स्वदेशमै रोजगारी : विदेशबाट फर्केर कृषि व्यवसायमा युवा

हिमाल प्रेस १९ चैत २०८१ १६:२१
30
SHARES
स्वदेशमै रोजगारी : विदेशबाट फर्केर कृषि व्यवसायमा युवा

देउखुरी- लमहीका युवराज पौडेल साउदी अरबमा दुई वर्ष बसेर २०७५ सालमा नेपाल फर्किए। तर, स्वदेशमा के काम गर्ने भन्ने अन्योल थियो। साउदीमा पानीको मात्रा धेरै भए पनि माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेपछि नेपालमा पनि कृषि क्षेत्रमै केही गर्न सकिने उनको बुझाइ भयो।

नेपालमा कृषिमा सम्भावना देखेर उनले परीक्षणका रूपमा बगरमा तरबुजा खेती सुरु गरे। लमही नगरपालिका–६ ढिकपुरस्थित राप्ती नदीको बगरमा १५ बिघा जमिनमा हराभरा तरबुजा खेती फैलिएको छ। नेपाल बाहिरका विभिन्न देशमा रोजगारी गरेर फर्किएका युवाहरूको लागत साझेदारीमा नमुना चक्लाबन्दी खेती सञ्चालन गरिएको पौडेलले बताए।

‘नेपालको जमिन बाँझो राखेर विदेशमा पसिना बगाउनुको साटो आफ्नै भूमिमा श्रम गर्नुपर्छ,’ पौडेल भन्छन्, ‘यदि युवाहरूले स्वदेशमै कृषि रोजे भने, रोजगारी पनि सिर्जना हुन्छ र आम्दानी पनि राम्रो हुन्छ।’ अहिले उनको फार्ममा पाँचजना स्थानीयलाई रोजगारी दिइएको छ। उनी स्वयं पनि श्रमिककै रूपमा खटिन्छन्।

उही ठाउँका सुरज पाण्डे पनि विदेशबाट फर्किएर तरबुजा खेतीमा संलग्न भएका छन्। चार वर्ष दुबई बसेर फर्किएका उनले साथीहरूले सुरु गरेको यो परियोजनामा साझेदारी गरेका हुन्। फल दिन थालेका बिरुवाले अहिले हरियाली छाएको छ।

लमहीमा रहेको उद्यमशील बहुउद्देश्यीय कृषि सहकारी संस्थाको व्यवस्थापनमा निजी कृषि फार्म तथा विदेशबाट फर्किएका युवाहरूको लगानीमा नमुना चक्लाबन्दी खेती सुरु गरिएको छ। सहकारीका सचिव विश्वप्रकाश अधिकारीका अनुसार ‘सहकारीले जग्गा खोज्ने काम गर्‍यो, स्थानीय युवाहरूले खेती गर्ने सोच राखे, त्यसैले आवश्यक जमिन उपलब्ध गराइयो।’

गर्मी मौसममा प्रशस्त फल्ने भएकाले दाङको हावापानी तरबुजा उत्पादनका लागि उपयुक्त रहेको अधिकारी बताउँछन्। प्रतिबिघा चारदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ। मल्चिङ प्रविधि, खाल्डा खन्ने प्रविधि, र लाइन बनाएर रोप्ने गरी तीन तरिकाले तरबुजा खेती गरिएको छ।

यस खेतीमा हरियो कला, ग्रेकल्दा, बाहिर हरियो–भित्र रातो, बाहिर हरियो–भित्र पहेँलो, बाहिर पहेँलो–भित्र रातो गरी कुल छ जातका तरबुजा लगाइएका छन्। छोटो समयमा उत्पादन हुने र प्रतिफल धेरै दिने भएकाले यो व्यवसाय रोजिएको हो। उत्पादन भएको तरबुजा घोराही, तुलसीपुर, लमही, भालुवाङ, बुटवल लगायतका सहरमा बिक्री गर्ने योजना रहेको छ।

प्रकाशित: १९ चैत २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast