दीपक बोहरा : पञ्चायतदेखि गणतन्त्रसम्म रूपन्देहीले पत्याएका नेता

विनोद परियार १९ चैत २०८१ १६:२२
90
SHARES
दीपक बोहरा : पञ्चायतदेखि गणतन्त्रसम्म रूपन्देहीले पत्याएका नेता

लुम्बिनी- रूपन्देहीका चर्चित नेताका रूपमा परिचित थिए, दीपक बाेहरा। पञ्चायतकालभरि रूपन्देहीकाे विकासमा लागेका तिनै पूर्वमन्त्री सांसद बाेहराले संसार त्यागेका छन्। पञ्चायत, बहुदल र गणतन्त्रसम्म सक्रिय राप्रपाका वरिष्ठ नेतासमेत रहेका बाेहराकाे मंगलबार बिहान १० बजेर १५ मिनेटमा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो।

२००७ सालमा जन्मिएका बोहराका दुई पत्नी मञ्जु बोहरा र उन्नति शिला बोहरा तथा दुई छोरा गौरव र प्रज्वल छन्। जेठो छोरा गौरव बुद्ध एयरका सिनियर पाइलट हुन् भने कान्छो छोरा प्रज्वल आईटी इन्जिनियर हुन्। पछिल्लो समय दुवै जना राजनीतिमा सक्रिय छन्। बोहराकी एकमात्र छोरीको गत फागुनमा निधन भएको थियो।

राजनीतिमा पाका र दुरदर्शी नेताका रूपमा बोहराले आफ्नो परिचय बनाएका थिए। सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका बोहरा रुपन्देही जिल्लाबाट पहिलोपटक राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए। उनी २०३८ सालमा पर्यटन सहायक मन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए।

३१ वर्षको उमेरमै मन्त्री बनेर सरकारमा पुगेका बोहरा २०४० सालमा पर्यटनराज्यमन्त्री बन्न सफल भए। २०४२ सालको आमनिर्वाचनमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनर्निर्वाचित भएका बोहरा २०४३ सालमा निर्माण तथा यातायात मन्त्रालयको राज्यमन्त्री बने। २०४४ सालमा सोही मन्त्रालयको मन्त्री भएका थिए।

२०६४ को निर्वाचनपछि २०६७ वन तथा भूसंरक्षणमन्त्री भएका बोहराले निकै महत्त्वपूर्ण काम गरेको जानकाहरू बताउँछन्।

वनमन्त्री हुँदा नेपाललाई विश्वमाझ चिनाउन मन्त्री बोहराले सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसाउने, जलवायु परिवर्तनबाट भएको क्षति न्यूनीकरण गर्नका लागि कालापत्थर टु कोपनहेगन, वातावरण, प्रकृति तथा वन्यजन्तु संरक्षण, डब्लिङ द टाइगरको रणनीति लागू गर्ने, मेल्टिङ हिमालय मुद्दा विभिन्न फोरमहरुमा उठाउँदै पर्वतालय संरक्षण गर्ने सम्मका कार्यक्रम गरेको बोहराको सचिवालयले जनाएको छ।

आफ्नो राजनीतिक जीवनकालमा सरकार र संसद्‌मा सहभागी भएका बोहराले सरकार, सदन र आवश्यक पर्दा सडकबाट पनि जनताको आवाज बोलिरहन्थे। चार दशकदेखि राजनीतिमा क्रियाशील बोहरा २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेका थिए। २०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ३ बाट तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई हराएर निर्वाचित भएपछि भने उनी सुस्ताएका थिए।

निर्वाचनकै बेलादेखि स्वास्थ्यका कारण बाेल्नसमेत नसकेका उनी स्वास्थ्य जटिल भएपछि संसद्‌मा समेत जान सकेनन्।

स्थानीय तहद्वारा दु:ख व्यक्त

बाेहराकाे निधनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले दु:ख व्यक्त गरेका छन्। सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) तथा संविधानसभा सदस्य इश्तियाक अहमद खाँले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) एवं पूर्वमन्त्री बोहराको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले

बोहराको निधनले यस क्षेत्रको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

रूपन्देहीकाे सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेले शाेक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका छन्।

बोहराको बुधबार (भोलि) अन्त्येष्टि गरिने भएको छ। उनको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए।

लम्सालका अनुसार मंगलबार हेलिकप्टरमार्फत बोहराको पार्थिव शरीर गृहनगर भैरहवामा ल्याउने र श्रद्धाञ्जली दिएर
काठमाडौँ लगिनेछ। बुधबार राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा अन्तिम श्रद्धाञ्जलीका लागि बोहराको पार्थिव शरीर राखिने केन्द्रीय सदस्य लम्सालले जानकारी दिए।

यस्तो छ बोहराको जीवनी

नाम : दीपक बोहरा
जन्म मिति : १८ चैत्र २००७ साल
जन्म स्थान : तान्सेन, पाल्पा, लुम्बिनी अञ्चल
पिता : स्व. बडाहाकिम प्रतिमान चन्द बोहरा
माता : स्व. निमा बोहरा
पत्नी : प्राज्ञ गीतकार उन्नति बोहरा ‘शीला’
छोरा : गौरव बोहरा, प्रज्जवल बोहरा
छोरी : स्व. चाँदनी बोहरा (ग्यारेट)
शैक्षिक योग्यता : स्नातक (राजनीतिशास्त्र, त्रिविवि)

राजनीतिक संलग्नता 

२०३६/२०४२ सालमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका रूपमा निर्वाचित।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा रुपन्देही क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित।
मन्त्री : आपूर्ति मन्त्रालय (२०७३)
श्रम तथा रोजगार मन्त्रालय (२०७२)
वन तथा भूसंरक्षण मन्त्रालय (२०६७)
निर्माण तथा यातायात मन्त्रालय (२०४४)
राज्यमन्त्री : पटकपटक

महत्त्वपूर्ण योजना र योगदान 

सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक (२००९)
मेल्टिङ हिमालयस मुद्दामा वैश्विक फोरमहरूमा आवाज उठाउनु (२०१०)
बागमती नदीमा एक लाख वृक्षरोपण (२००९)
विश्व बैंकको पहलमा ‘ग्लोबल टाइगर इनिसियटिभ’को सुरुआतमा अहंभूमिका
वन्यजीव र बाघ संरक्षणका लागि महत्त्वपूर्ण पहलहरू

अन्य प्रमुख जिम्मेवारी
• पूर्वअध्यक्ष: राष्ट्रिय प्रकृति संरक्षण कोष, बैंक अफ काठमाण्डु
• संरक्षक: डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठान

प्रकाशित: १९ चैत २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast