
तनहुँ- यस वर्षको ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको उक्त पुरस्कार यही चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए।
यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा. भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वांगमय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिए।
तीनवटै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ। दस हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ।