
धुलिखेल- गत असोजको दोस्रो सातामा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा तत्कालका लागि खोलाको बगर हुँदै वैकल्पिक बाटो बनाइएको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म उक्त वैकल्पिक सडक प्रयोगमा आएको छ।
काठमाडौँबाट पूर्वी तराई जाने छोटो मार्गका रूपमा बिपी राजमार्ग प्रमुख विकल्प हो। तर,बर्खायाम नजिकिँदै जाँदा सवारी सञ्चालन कठिन हुने भएकाले भक्तपुर सडक डिभिजन कार्यालयले खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गरिरहेको छ। विशेषगरी चौकीडाँडास्थित धेरै क्षतिग्रस्त खण्डमा सडक उचाइ बढाउने काम तीव्र रूपमा भइरहेको छ।
भक्तपुर सडक डिभिजनका इन्जिनियर दुर्गाप्रसादका अनुसार दीर्घकालीन पक्की सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। तर, ‘विड ओपनिङ’, मूल्याङ्कन र ठेकेदार छनोट प्रक्रियामा समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक सडक निर्माण भइरहेको छ।
बाढीका कारण खोलाको उचाइ बढेकाले बर्खायाममा असर पर्ने सम्भावना छ। त्यसैले खोलाको धार परिवर्तन गर्दै सडकको उचाइ बढाउने योजना बनाइएको छ। चौकीडाँडा खण्डमा तीव्र गतिमा काम भइरहेको छ। बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडादेखि सिन्धुलीको सिमानासम्म करिब आठ किलोमिटर सडक बगाएको थियो।
इन्जिनियर दुर्गाप्रसादले भने, ‘तत्कालका लागि बगाएको सडक ग्राभेल गरेर सफा गरिँदै छ। कतिपय स्थानमा खोलाको बगर हुँदै अस्थायी सडक निर्माण गरिएको छ। जहाँ खोलाको सतह नजिक बाटो छ, त्यहाँ खोलाको धार परिवर्तन गर्दै उचाइ बढाउने कार्य भइरहेको छ।’
भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको छ। बाँकी खण्डहरूमध्ये माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चारसयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ। हाल चौकीडाँडामा निर्माण कार्य भइरहेको छ जुन केही दिनमै सम्पन्न हुने अपेक्षा गरिएको छ।
सडक निर्माण कार्यलाई द्रुत रूपमा सम्पन्न गर्न भक्तपुर सडक डिभिजन कार्यालयले दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर खटाएको छ। आगामी वैशाखभित्र सबै काम पूरा गर्ने लक्ष्य राखिएको छ। वैकल्पिक सडक निर्माण भएपछि बर्खायाममा पनि बिपी राजमार्गमा सवारी सञ्चालन सहज हुने आशा गरिएको छ।