हाम्रो आन्दोलन शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध हो : अध्यक्ष सुवेदी

हिमाल प्रेस १२ वैशाख २०८२ ६:१९ | Friday, April 25, 2025
हाम्रो आन्दोलन शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध हो : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी शिक्षक आन्दोलन अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध भएको स्पष्ट पारेका छन्।

आन्दोलनबारे शिक्षक कर्मचारीहरूलाई जानकारी गराउँदै शुक्रबार बिहान अध्यक्ष सुवेदीले सो कुरा बताएका हुन्। उनले लक्ष्यप्राप्तिका लागि अनिवार्य रूपमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सुवेदीले भने, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’

चर्को घामका कारण सडकमा गर्मी निकै भएको बताउँदै अध्यक्ष सुवेदीले प्रतिबद्धता र अठोटका अघि त्यो बाधाले हार्ने निश्चित भएको उल्लेख गरेका छन्। उनी भन्छन्, ‘त्यसैले आन्दोलनमा आउनुभएका साथीहरूलाई आन्दोलन स्थलमा नै पूरा अवधि (११ बजेदेखि २ बजेसम्म) रहन अनुरोध गर्दछौं।’

शिक्षक आन्दोलन आज २४ औं दिनमा चल्दैछ। सरकारले अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग महासंघको छ।

सुवेदीले अरू के के भने?

हाम्रो आन्दोलन जारी छ। सदा झै ठिक ११ बजे माइतीघर मण्डला आइपुग्नुहोला।

साथीहरुको अनुशासित र संयमित व्यवहारसहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ।

हाम्रो बल र आत्मविश्वासको स्रोत पनि तपाईं साथीहरु नै हुनुहुन्छ।

पसलअघि मोटरबाइक पार्किङ गरिदिएर आफूहरु समस्यामा परेको गुनासो आन्दोलनको विरोध सभास्थल वरिपरिका व्यापारी बन्धुहरुको रहेको छ। यसमा विचार गरिदिनुहोला।

आन्दोलन सबैको हो। आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुनेछन्। त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहीदिनु होला।

सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भइदिनुहोला। जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगरी दिनुहोला।

प्रकाशित: १२ वैशाख २०८२ ६:१९ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast