कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरे।
                                            काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने बताएका हुन्।
घिमिरेले कांग्रेस मुलुकको स्थिरताका पक्षमा दृढतापूर्वक उभिने र दुई दलबीच भएको सहमतिलाई अक्षरशः पालना गर्ने बताए। उनले नेपाली समाजले समेत नपत्याएको एउटा झुण्डले बलिदानीपूर्वक ल्याएको लोकतन्त्रलाई सिध्याउँछु भन्ने दुष्साहस नगर्न चेतावनी दिए।
प्रमुख सचेतक घिमिरेल कसैले आन्दोलन गरेर नारायणहिटीमा पूर्वराजालाई पुर्याए देशको कल्याण हुन्छ भन्ने सपना नदेख्न समेत सुझाव दिए। अराजनीतिक मान्छेहरुबाट अहिलेको व्यवस्थालाई कुनै चुनौती हुन नसक्ने घिमिरेको भनाइ छ।
घिमिरेले वर्तमान सरकार आक्रमण ढंगले अघि बढ्नुपर्ने र विकासका साथै सुशासनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

