सडकमा शिक्षक, कुलतमा विद्यार्थी

हिमाल प्रेस ९ वैशाख २०८२ ८:५३ | Tuesday, April 22, 2025
सडकमा शिक्षक, कुलतमा विद्यार्थी विद्यालय

इलाम- इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे। निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन्।

‘विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो। तर, नानी त कुलतमा फसिसकेको रहेछ’, बालककी आमाले भने, ‘विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसंगतले बिगार्ने रहेछ।’

वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो। यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन। विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन्। सरकारले माग पूरा गर्छ/गर्दैन भनेर शिक्षकलाई चिन्ता छ। तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ।

सूर्योदय नगरपालिका-७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए। ‘सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन्। विद्यालय नहुँदा घरमा काम छैन, खराब संगत र स्वतन्त्रताले धेरै बिग्रिसके। यो विषय संवेदनशील छ।’

जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको संख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन्।

बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए। ‘बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ। अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ।’

हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका-१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए।

‘यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन्। हामीलाई उनीहरूको चिन्ता छ। राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ’, शिक्षक खड्काले भने।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए।

प्रकाशित: ९ वैशाख २०८२ ८:५३ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast