सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारवाही हुन्छ : गृहमन्त्री लेखक

हिमाल प्रेस २० चैत २०८१ १७:५२ | Wednesday, April 2, 2025
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारवाही हुन्छ  : गृहमन्त्री लेखक पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रमेश लेखक।

 काठमाडौँ-  गृहमन्त्री रमेश लेखकले सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले बुधबार दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंसक एवं सिद्धान्तविनाको भिडले तीनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए।

‘तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै आपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो,’ गृहमन्त्री लेखकले भने,‘विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा सरकार गम्भीर छ।’

उनले हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, सञ्चार गृह र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले निष्पक्ष छानविन गरी दोषी पक्षलाई कारवाही गरिने बताए।

यसैगरी तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारका विषय गम्भीर भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको बताए।

महासंघका महासचिव दाहालले तीनकुने घटनामा परी एक फोटो पत्रकारको ज्यान गएको र सञ्चारगृहहरूमाथि हमला भएको घटनाको निष्पक्ष छानविन गरी दोषी पक्षलाई हदैसम्मको कारवाही गर्न अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: २० चैत २०८१ १७:५२ | Wednesday, April 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast