संसद् विकासभन्दा सत्ताको भ‍र्‍याङ बनेको छ : सांसद प्रधान

हिमाल प्रेस १ वैशाख २०८२ १२:०५ | Monday, April 14, 2025
संसद् विकासभन्दा सत्ताको भ‍र्‍याङ बनेको छ : सांसद प्रधान

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद ध्रुवबहादुर प्रधानले प्रतिनिधिसभा कानुन निर्माणमा खासै सक्रिय नभएको टिप्पणी गरेका छन्। उनले संसद्ले राष्ट्रिय हित, जनताको अपेक्षा र समग्र विकासलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्दै वर्तमान संसद् दलीय स्वार्थमा सीमित रहेको आरोप लगाए।

‘सदनले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गर्न सकेको देखिँदैन। संसद्लाई कानुन निर्माण गर्ने थलोभन्दा पनि सत्तामा पुग्ने भ‍र्‍याङका रूपमा प्रयोग गरिएको जस्तो देखिन्छ,’ रासससँग सांसद प्रधानले भने।

उनका अनुसार सत्ता प्राप्तिको लागि संसदभित्र चलखेल हुँदै आएको र राष्ट्रपति तथा प्रधानमन्त्री चयनको बेलामा पनि त्यसको झल्को देखिएको छ। ‘सांसदले सार्वभौम भएर काम गर्नुपर्छ तर पार्टीको ‘ह्वीप’ मा चल्नुपरेकोले जनताको सवाल निष्पक्ष रूपमा उठाउन सकेका छैनन्,’ उनले भने।

प्रधानले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग) को विषयमा पनि ठूला दलकै भागबण्डा नमिल्दा समस्या समाधानमा ढिलाइ भएको बताए।

‘टिआरसीजस्ता संवेदनशील विषयमा लामो समय बितिसक्दा पनि ठोस निष्कर्ष आउन सकेको छैन। यो राजनीतिक भागबण्डाको परिणाम हो,’ उनले स्पष्ट पारे।

सांसद प्रधान हाल प्रतिनिधिसभाको न्याय, कानुन तथा मानव अधिकार समितिका सदस्य हुन्। समितिले भने आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिरहेको बताउँदै उनले विभिन्न ऐन तथा विधेयकमाथि गहिरो छलफल भइरहेको जानकारी दिए।

प्रकाशित: १ वैशाख २०८२ १२:०५ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast