फाइल तस्बिर
                                            काठमाडौँ- विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न माग गर्दै देशभरिका शिक्षकहरू काठमाडौँमा आन्दोलनमा उत्रिएका छन्। लाखौं शिक्षक कर्मचारीले नयाँ बानेश्वर–माइतीघर सडक ढाकिएको छ।
नेपाल शिक्षक महासंघको अगुवाइमा आज काठमाडौँ ठूलो प्रदर्शन भएको छ। प्रदर्शनमा डेढ लाख शिक्षक तथा कर्मचारी सहभागी भएका छन्। महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार शिक्षकहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।
शान्तिपूर्ण आन्दोलन सुनिश्चित गर्न ८०० स्वयंसेवक परिचालन गरिएको महासंघले जनाएको छ। ‘अनुशासित र मर्यादित रूपमा आन्दोलन अघि बढाउन हामीले स्वयंसेवक तैनाथ गरेका छौं,’ पराजुलीले बताइन्।
गत असोज ३ गते संसद्मा शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरूले सडक आन्दोलन थालेका थिए। असोज ५ मा सरकार र शिक्षक महासंघसहित अन्य संघसंस्थाबीच ६ बुँदे सहमति भए पनि ऐन जारी नभएकाले पुनः दबाब दिनु परेको शिक्षक महासंघको भनाइ छ।
हाल विधेयक संसदको शिक्षा समितिमा छलफलको क्रममा रहेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

