एमाले प्रमुख सचेतकको आश्वासन- शिक्षा विधेयकमा ८० प्रतिशत काम सकियो, बजेट अधिवेशनबाट पारित हुन्छ

हिमाल प्रेस २० चैत २०८१ १६:५३
एमाले प्रमुख सचेतकको आश्वासन- शिक्षा विधेयकमा ८० प्रतिशत काम सकियो, बजेट अधिवेशनबाट पारित हुन्छ

काठमाडौँ- अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा आजदेखि अनिश्चितकालीन शिक्षक आन्दोलन सुरु हुँदा सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने विद्यालय शिक्षा विधेयक–२०८० को ८० प्रतिशत काम सकिएकाले संसद्को बजेट अधिवेशनको प्रारम्भकै पारित हुने बताएका छन्।

रासससँग प्रमुख सचेतक बर्तौलाले भने,‘शिक्षा विधेयकलाई निष्कर्षमा पुर्‍याउन असाधारण मेहनत भएको छ। यो विधेयक बढी महत्त्वको छ। संघीयता कार्यान्वयनसँग जोडिएको मुख्य विधेयक यो पनि हो। विद्यालय शिक्षा विधेयकको ८० प्रतिशत काम भएको छ। योबीचको अवधिमा बाँकी काम पूरा गर्छौं। बजेट अधिवेशनको प्रारम्भमै सदनमा लगेर पारित गर्छौं। शिक्षासँग सम्बन्धित विधेयकमा बहुपक्षीय सरोकारवालाहरु छन्। शिक्षक, विद्यालय कर्मचारी, स्थानीय सरकारको क्षेत्राधिकार, पाठ्यक्रम, परीक्षा प्रणाली, अभिभावक, निजी शिक्षालगायत समग्र पक्षलाई सम्बोधन गर्नुपर्ने विषय आफैँमा जटिल हो। गुणस्तरीय कानुन बनाएर संसद्ले राम्रो काम भन्ने अवस्थामा पुर्‍याउन केही समय लागेको हो।’

महासंघले संसद्को हिउँदे अधिवेशनबाटै विधेयक पारित गराउन माग गरेको थियो। गत माघ १८ गतेदेखि प्रारम्भ भएको संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य भएको छ।

त्यस्तै, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले भने विद्यालय शिक्षा विधेयक-२०८० लाई स्वार्थ समूहले अगाडि बढ्न नदिएको दाबी गरेका छन्।

‘स्वार्थ समूहले मैले नै गर्ने हो भन्ने वातावरण सिर्जना गर्नाले शिक्षा विधेयक बिगार्ने धेरै प्रयास भइरहेको छ। बिगार्न, बिग्रन नदिन हाम्रो पनि प्रयास हुन्छ,’ सभापति थापाले भने, ‘त्यही कुराले प्रभावित कोही छन् भने मैले राजीनामा दिन्छु भनेको छु। मेरो राजीनामा मागेका पनि छन्। ऐन बन्छ भने स्वतः राजीनामा दिन्छु।’

याे पनि

प्रकाशित: २० चैत २०८१ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast