शिक्षक आन्दोलनले ५५ लाख विद्यार्थी प्रभावित, अभिभावक संघहरूद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

हिमाल प्रेस ७ वैशाख २०८२ १६:०६ | Sunday, April 20, 2025
शिक्षक आन्दोलनले ५५ लाख विद्यार्थी प्रभावित, अभिभावक संघहरूद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ- काठमाडौँमा जारी शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण शिक्षामा गम्भीर असर परेको भन्दै अभिभावक संघ नेपाल र अभिभावक महासंघले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन्।

अभिभावक महासंघका संरक्षक सुप्रभात भण्डारी र अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विगत १९ दिनदेखि शिक्षकहरू आन्दोलित रहेका कारण करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन र विद्यालय भर्ना प्रक्रियामा गम्भीर प्रभाव परेको उल्लेख गरिएको छ।

उनीहरूले यसलाई विद्यार्थीको पढ्न पाउने मौलिक अधिकारको हनन भएको ठहर गर्दै आइताबार राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले शिक्षकका जायज माग पूरा गर्नुपर्ने बताएका छन्। पत्रमा भनिएको छ,‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी छ, शिक्षकका जायज मागहरू तत्काल पूरा गर्नुपर्छ भन्ने कुरामा किन्तु परन्तु हुनसक्तैन, शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउँछ तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न हुँदैन साथसाथै विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्छ भन्ने कुरामा हामी दृढ छौं।’

निकट भविष्यमा सञ्चालन हुन गइरहेको कक्षा १२ को राष्ट्रिय परीक्षा पनि प्रभावित हुन सक्ने सम्भावनाप्रति अभिभावक संघहरूले चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा थप भनिएको  छ, ‘आसन्न कक्षा १२ को परीक्षा समेत प्रभाव हुन सक्नेतर्फ मानव अधिकार आयोगकोसमेत हामी गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छौं, विद्यार्थीहरूको पढ्न पाउने हक बाल अधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउनसक्ने विद्यार्थीहरूका पठनपाठन हुनसक्ने १२ कक्षाको राष्ट्रिय परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन आम अभिभावक तथा विद्यार्थीहरूका तर्फबाट जोडदार माग समेत गर्दछौं।’

 

प्रकाशित: ७ वैशाख २०८२ १६:०६ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast