शिक्षकसँगको वार्तामा गृहमन्त्री लेखक पनि सहभागी

हिमाल प्रेस १६ वैशाख २०८२ २१:०८ | Tuesday, April 29, 2025
शिक्षकसँगको वार्तामा गृहमन्त्री लेखक पनि सहभागी गृहमन्त्री रमेश लेखक

काठमाडौँ- नेपाल शिक्षक महासंघसँग सिंदरबारमा जारी वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपाली शिक्षक महासंघको टोलीबीच मंगलबार साँझ भइरहेको वार्तामा गृहमन्त्री लेखक पनि सहभागी भएको उनको सचिवालयले जनाएको छ।

महासंघको अगुवाइमा २८ दिनदेखि राजधानी केन्द्रित सडक आन्दोलन जारी छ। विद्यालयका शिक्षक र कर्मचारीहरू विद्यालय शिक्षा विधेयक संसद्बाट ऐनका रूपमा तत्काल जारी हुनुपर्ने अडानमा छन्।

यसैगरी विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग उनीहरूको छ। सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यार्थी अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र साढे पाँच लाख परीक्षार्थी सहभागी हुने कक्षा १२ को अन्तिम परीक्षा अवरुद्ध भएको छ।

यसैबीच नेपाल शिक्षक महासंघको मंगलबार सम्पन्न बैठकले आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा भएको वार्तामा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया सुवेदीसहित सहभागी छन्।

वार्ता मन्त्रिपरिषद्‌बाट आंशिक माग पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा केन्द्रित छ।

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्‌बाट निर्णय गर्न सकिने गरी ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन्। त्यसमा केही माग थपेर पारित गर्नुपर्ने अडान महासंघको छ। मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हडतालसहितको आन्दोलनको स्वरूप फेर्ने पक्षमा महासंघ छ।

प्रकाशित: १६ वैशाख २०८२ २१:०८ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast