 
                             
                                            काठमाडौँ- चेतन आङ्थुपोको निर्देशनमा बनेको नाटक ‘उर्फ दारासिंह’ यही वैशाख १६ देखि मञ्चन हुने भएको छ। नयाँ वर्ष २०८२ को अवसरमा निर्देशक आङथुपोले नाटक मञ्चनको मितिसहितको पोस्टर सार्वजनिक गरेका हुन्।
नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी जेठ ११ सम्म मञ्चन हुने पोस्टरमा उल्लेख छ। नाटकमा कलाकार आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा लगायतले अभिनय गर्नेछन्।
नाटक दारासिंह अर्थात् कर्ण बहादुर केरुङकाे कथामा आधारित रहेकाे निर्देशक आङ्थुपोले बताए। तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङकाे मृत्यु भएकाे थियाे। उनले भूमि संरक्षणका लागि गरेकाे संघर्ष र याेगदानलाई रंगमञ्चमा देखाउन लागेको निर्देशक आङथुपोले बताए।
‘पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको रुपमा क्रममा केरुङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गर्न लागेका हौँ।’ उनले भने, ‘त्यतिखेर उहाँलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको प्रेरणाको पात्र मान्नुहुन्थ्याे। उहाँको कुरा इतिहासमा नभनिएकोले हामीले नाटकमार्फत भन्न खोजेका हौँ।’
रुपेश लामाको सह-निर्देशन रहेको नाटकको कथा सुमन लिङ्देनले लेखेका छन्। चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको एक थिएटरको सहकार्यमा मञ्चन हुन लागेको हो। नाटकका निर्माता सुमन राई हुन्।
चुलाचुलीले उपत्यकामा मञ्चन गर्न लागेको यो दोस्रो नाटक हो। यसअघि शिल्पी थिएटरमा नाटक ‘झोडा’ मञ्चन गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 