 
                             
                                            काठमाडौँ- वैदेशिक रोजगार विभाग तीन सातादेखि महानिर्देशकविहीन छ। चैत २५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालयमा तानेपछि उक्त पद खाली भएको हो। खत्री भ्रष्टाचारमा मुछिएपछि मन्त्रालय तानिएका हुन्।
अहिले विभागमा प्रशासनिक कामको नेतृत्व उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले गरिरहेका छन्। शिवाकोटीले महानिर्देशक नहुँदा वैदेशिक रोजगारी र अन्य काममा प्रभावित भइरहेको बताए।
श्रम, रोजगार रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सहसचिव जीवलाल भुसाललाई महानिर्देशकको जिम्मेवारीमा पठाउने प्रस्ताव गरे पनि उनी जान नमानेको मन्त्रालय स्रोतले दाबी गरेको छ।
सहसचिव भुसाल महानिर्देशकको जिम्मेवारीमा जान नमानेको श्रम मन्त्रालयका एकजना उच्च अधिकारीले बताए। भुसाल मात्रै होइन श्रममन्त्री भण्डारीले अन्य तीन सहसचिवलाई विभागको महानिर्देशकमा जान प्रस्ताव गरेका थिए। मन्त्रीको प्रस्ताव कसैले पनि स्वीकार नगरेको ती अधिकारीले बताए। ‘महानिर्देशक नभएको भए पनि श्रम स्वीकृतिलगायतका सबै काम भइरहेको छ। महानिर्देशक तत्काल पठाउने तयारी भइरहेको छ। विभागमा केही समस्या आएमा मन्त्रालयले नै समन्वय गरिरहेको छ’, ती अधिकारीले भने।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विभागमा महानिर्देशक नहुँदा काम रोकिएको भन्दै श्रममन्त्री भण्डारीको ध्यानाकर्षण गएको छ। संघका अध्यक्ष भुवनसिंह गुरुङले श्रम मन्त्रालयले एकदुई दिनमा महानिर्देशक पठाउने भनेर आश्वासन दिइरहेको जानकारी दिए। उनले भने, ‘वैदेशिक रोजगार विभागजस्तो नियमनकारी निकाय दुई सातादेखि नेतृत्वविहीन हुँदा पनि सरकारले नयाँ महानिर्देशक पठाउन आलटाल गरिरहेको छ।’
विभागले दैनिक गर्ने सम्झौता, म्यानपावरमा अनुगमन, म्यानपावरका समस्या, नीतिगत सुधार, कामदारका समस्या र विभागभन्दा माथिल्लो स्तरमा गर्नुपर्ने सबै काम रोकिएको छ। श्रम स्वीकृतिमा देखिएका समस्या समाधानका लागि पनि श्रम मन्त्रालयनै आउनुपरेको छ।
यसअघि विभागको महानिर्देशक बन्न श्रम मन्त्रालयका सहसचिवबीच हानथाप हुने गरेको थियो। ‘विगतमा नियुक्त हुनासाथ महानिर्देशक सकेसम्म छिटो हाजिर हुन पुग्थे। अहिले मन्त्रीले पठाएका सहसचिव नै गएका छैनन्’, गुरुङले भने।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगार विभागमा तीनजना महानिर्देशक फेरिएका छन्। डण्डुराज घिमिरे, मदन दाहाल र सूर्यप्रसाद खत्री एक वर्षभित्र विभागको महानिर्देशक भएर श्रम मन्त्रालय फर्किएका छन्। तीनैजना आर्थिक अनियमितता गरेको आरोपमा मन्त्रालय तानिएका थिए।
खत्रीमाथि एक सय म्यानपावरको लाइसेन्स नवीकरण गरेको, अनुगमन गरेर म्यानपावरसँग पैसा उठाएको, इजरायलमा नक्कली प्रमाणसँगै नक्कली कामदार परीक्षामा सामेल गराएको र व्यक्तिगत भिसामा श्रम स्वीकृति दिन चलखेल गरेको आरोप लागेको थियो।
दाहाल अनुगमन र श्रम स्वीकृतिका समस्या समाधान गरेर पैसा असुली गरेको आरोपमा मन्त्रालय तानिएका थिए। घिमिरे भने मन्त्रीसँग कुरा नमिल्दा मन्त्रालय तानिएका हुन्। उनीमाथि पनि आर्थिक अनियमितता गरेको आरोप लागेको थियो।
मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागमा अर्को साताभित्र महानिर्देशक पठाइने बताए। उनले हिमालप्रेस भने, ‘वैदेशिक रोजगारीका समस्या, म्यानपावर र ठगी व्यवस्थापन गर्ने व्यक्ति विभागमा महानिर्देशकको नतृत्वमा पठाउने गरी छलफल भइरहेको छ।’
‘घुस रकम सचिव र मन्त्रीसम्म”
विभागका महानिर्देशकमाथि पैसा उठाएर श्रममन्त्री र सचिवलाई बुझाउनुपर्ने बाध्यता रहेको एक पूर्वमहानिर्देशकको आरोप छ। ती पूर्वमहानिर्देशकका अनुसार विभागमा महानिर्देशक भएर गएपछि विभिन्न समस्या, अनुगमन, ठगी मुद्दा र श्रम स्वीकृतिमा देखिएको समस्या समाधान गर्दा पैसा उठाउनुपर्ने बाध्यता हुन्छ। यसरी उठाएको पैसाको ५० प्रतिशतभन्दा बढी हिस्सा श्रममन्त्री र सचिवलाई दिनुपर्ने ती पूर्वमहानिर्देशकको दाबी छ।
‘सबैभन्दा बढी पैसा म्यानपावरको अनुगमन, ठगी, श्रम स्वीकृति र व्यक्तिगत भिसाको समस्या समाधानमा संकलन गरिन्छ। विभागमा कर्मचारी, म्यानपावर र बिचौलियामार्फत घुस लिने काम हुन्छ। त्यही पैसा सबैतिर बाँडिन्छ’, ती पूर्वमहानिर्देशकले भने।
पैसा उठाएर मन्त्री, महानिर्देशक, सचिव र कर्मचारीलाई बाँड्ने केही म्यानपावर कम्पनी सञ्चालकको समूह सक्रिय रहेको उनको दाबी छ। विभागमा श्रम स्वीकृतिमा समस्या खडा गरेर पैसा लिई माथिल्लो तहसम्म बाँड्ने केही कर्मचारी पनि सक्रिय रहेको उनले बताए।
विभागमा कार्यरत कर्मचारीलाई शाखा वा फाँटमा खटाउने, कर्मचारीको सुपरीवेक्षण एवं पुनरवलोकन गर्ने इजाजतपत्र जारी गर्नेलगायत विभागमा परेका उजुरीमा निर्णय गर्ने कामबाट मिलाएर पैसा लिने आरोप विभागमाथि लाग्ने गरेको छ।
श्रममन्त्री भण्डारीले भने विभागमा आर्थिक अनियमितता गर्ने कर्मचारीमाथि आफूले निगरानी गरिरहेको बताए। उनले विभागका कर्मचारीले घुस उठाएर श्रम मन्त्रीको टेबुलसम्म दिन्छु भनेर गलत प्रचार गरेको आरोप पनि लगाए। भण्डारीले भने, ‘घुस उठाएर श्रम मन्त्रीलाई दिएको भन्दै कसले प्रमाण दिए मन्त्री पदबाट तत्काल राजीनामा दिन्छु।’


 
                                              
                                              
                                              
                                             ![रोजगारका लागि कुन देशमा कति जान्छन् नेपाली [तथ्यांकसहित]](https://himalpress.com/wp-content/uploads/chunck/03/baideshik_rojgar_1654867096.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 