वीरगन्ज घटना : पाँच जना पक्राउ, राज्यविरूद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता

हिमाल प्रेस ४ वैशाख २०८२ १८:०९ | Thursday, April 17, 2025
वीरगन्ज घटना : पाँच जना पक्राउ, राज्यविरूद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता

काठमाडौँ- वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाँच जनामाथि राज्यविरूद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ।

शोभायात्राका क्रममा हिंसा भड्काउने कार्यमा संलग्न रहेको पाइएका पाँच जनामाथि राज्यविरूद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको हो।

पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले शोभायात्राका क्रममा हिंसात्मक गतिविधिमा संलग्न पाइएका पाँच जनामाथि राज्यविरूद्धको कसुर र आपराधिक उपद्रव मुद्दा दर्ता भएर अनुसन्धान अगाडि बढेको जानकारी दिए।

एसपी गौतमका अनुसार शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई, शकिल मियाँ, रवि सर्राफ र बलजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ परेकामध्ये शेख खुर्सेद, सलाउद्दिन मियाँ ठकुराई र शकिल मियाँमाथि राज्यविरूद्धको कसुर तथा सर्राफ र सिंहन‍विरूद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता भएको छ।

गत शनिबार हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा वीरगन्ज–२ छपकैया पुगेपछि दुई फरक धार्मिक समुदायकाबीच झडप भएको थियो। शोभायात्रका क्रममा ढुंगामुढा भएपछि सुरू भएको विवाद झडपमा परिणत भएको थियो।

चैत ३१ गते जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकमा झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र कारबाही गर्नेसहित पाँच बुँदे सहमति भएको थियो। सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमतिअनुसार प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएर पाँच जनालाई पक्राउ गरेको हो।

घटनास्थलको सीसीटीभी फुटेज, ड्रोन भिडियो तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो सामग्री र प्रमाणका आधारमा अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको एसपी मिश्रले बताए।

घटनाबारे प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताउँदै उनले थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूलाई पनि पक्राउ गरिने जानकारी दिए।

शोभायात्राका क्रममा दुई फरक धार्मिक समुदायबीच झडप हुँदा २५ जना सुरक्षाकर्मी र १५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए। झडप नियन्त्रणमा लिन प्रहरीले १४५ सेल अश्रु ग्यास र दुई राउण्ड हवाई फायर गरेको थियो। झडपका क्रममा केही घर र पसलमा आगजानी तथा तोडफोडसमेत भएको थियो।

प्रकाशित: ४ वैशाख २०८२ १८:०९ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast