 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
बुधबार रास्वपाका नेताहरू आयोगको कार्यालय पुगेर सामान्य प्रक्रिया समेत पूरा नगरी लामिछानेलाई ज्यादतीपूर्ण ढंगले पक्राउ गरेको र यस क्रममा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै निवेदन दर्ता गराएका हुन्।
रास्वपाले लामिछानेलाई पक्राउ गर्दा भएको मानवअधिकारको उल्लंघनको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेको छ।
रास्वपाका कार्यकवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पूरा नगरी अभद्र व्यवहार र धरपकडसहित लामिछानेलाई पक्राउ गरेको भन्दै छानबिनका लागि आयोगमा निवेदन दर्ता गरिएको जानकारी दिए।
राज्य संयन्त्रले मानवअधिकार हनन् हुनेगरी धरपकड गरेकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको उनले बताए।
त्यस्तै विनाअनुमति लामिछानेको घर पुगेर अभद्र व्यवहार गरेर प्रहरीले मानवअधिकारको गम्भीर उल्लंघ गरेको रास्वपाको भनाइ छ। रास्वपाको ध्यानकर्षण र निवेदन बुझ्दै मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले घटनाको छानबिन गर्ने र आवश्यक कामकारबाही अघि बढाउने प्रतिबद्धता जनाएको बर्लाकोटीले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 