राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस १४ वैशाख २०८२ २२:४३ | Sunday, April 27, 2025
राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ– काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।

उनीहरूलाई आइतबा काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भने २० दिनको म्याद मागेको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो। गत चैत १५ गते भएको उक्त घटनामा पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ। घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन् भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ।

तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको छ। बाँकीलाई भने आपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाइएको छ।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए। सरकारीलगायत निजी संरचनामा आगो लगाउने र तोडफोड गर्ने कामसमेत भएको थियो।

प्रकाशित: १४ वैशाख २०८२ २२:४३ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast