राजनीतिक स्थिरतानिम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

हिमाल प्रेस ४ वैशाख २०८२ १३:१० | Thursday, April 17, 2025
राजनीतिक स्थिरतानिम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरतानिम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन्।

पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रुपन्देही आइपुगेका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको भनी चिन्ता व्यक्त गरे।

‘स्थिरताका लागि संविधान संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ’, उनले भने, ‘संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ।’

उनले सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट गर्दै जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए। उनले गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेश जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताए।

उनले अभियानले राष्ट्रिय एकता मजबुत गराउन सहयोग पुयाउने धारणा व्यक्त गरे। राजावादीहरूको आन्दोलनलाई अराजकतावादीहरूको भीडको संज्ञा दिँदै अध्यक्ष दाहालले गणतन्त्र र यसले ल्याएको उपलब्धिका विरुद्ध हुने आन्दोलनलाई परास्त गर्न जनताको घरदैलोमा पुग्नुपर्ने खाँचो औँल्याए।

प्रकाशित: ४ वैशाख २०८२ १३:१० | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast