मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

हिमाल प्रेस ३ वैशाख २०८२ १९:४६ | Wednesday, April 16, 2025
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको आयोगको १८ औँ बैठकले कार्यदल गठन गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा. मोहन शर्मा, काठमाडौँ विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र संकायका डीन डा. मनोज हुमागाईँ, विज्ञहरू डा. भगवान कोइराला, डा. रमेशकान्त अधिकारी, डा. दिव्यासिंह शाह, डा. मंगल रावल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा. अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की सदस्य रहेका छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो। विद्यार्थीहरूले उक्त भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आयोगको बैठक आह्वान गरेका थिए।

यसअघि गत माघ २५ गतेको आयोगको १६औँ बैठकले आवासीय चिकित्सकहरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारीसरह (आठौँ तह) को मासिक ४८ हजार ५०० रुपैयाँ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो।

सिट संख्या र शुल्क वृद्धिका विषयमा कार्यदलले अध्ययन गरी सुझाव पेस गरेपछि निजी मेडिकल कलेजले सोही अनुसार आयोगबाट तोकिएको निर्वाह भत्ता दिनुपर्ने र विद्यार्थी भर्नासम्बन्धी ‘म्याचिङ’ सुरु हुनेछ। आयोगको अर्को बैठक वैशाख १५ गते बस्ने छ।

प्रकाशित: ३ वैशाख २०८२ १९:४६ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast