सडक आन्दोलनमा सहभागी शिक्षक।
काठमाडौँ- शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा शिक्षक कर्मचारी आन्दोलनको आज तेस्रो दिन पुगेको छ। बुधबारदेखि सुरु भएको आन्दोलनमा लाखौं शिक्षक कर्मचारी उपस्थित छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० लाई अविलम्ब ऐनको रुप दिनुपर्ने माग आन्दोलनकर्ताको छ। संसद्को हिउँदे अधिवेशनबाट विधेयक पारित हुने अपेक्षा राखिए पनि गएको मंगलबार नै यो अधिवेशन अन्त्य भएको थियो। नेपाल शिक्षक महासंघले अध्यादेशबाट भए पनि ऐन आउनुपर्ने बताएको छ।
ऐन जारी नहुँदासम्म काठमाडौँमा अनिश्चितकालीन रुपमा आन्दोलन जारी रहने बताइएको छ। महासंघले यो अन्तिम लडाइँ भएकोले सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दै ‘कि जितिन्छ कि बितिन्छ’ नारा लगाएको छ।
आन्दोलन जारी रहँदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ। वार्ता होइन ऐन आवश्यक रहेको भन्दै महासंघले वार्ताको औचित्य नभएको बताएको छ।




