माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु, पूर्वउपराष्ट्रपति पुन पनि सँगै

हिमाल प्रेस २ वैशाख २०८२ १२:३० | Tuesday, April 15, 2025
माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु, पूर्वउपराष्ट्रपति पुन पनि सँगै

नवलपुर- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ। झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो। नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए। गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो।

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुवात गरेको छ। उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए। अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरे।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरे।

अभियानमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि सहभागी छन्। अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए। जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ‍।

प्रकाशित: २ वैशाख २०८२ १२:३० | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast