मन्त्रिपरिषद‍्बाट सम्बोधन गर्नुपर्ने मागमा बेवास्ता भयो, सरकारले शिक्षक आन्दोलन कमजोर बनाउन खोज्यो : संयोजक पराजुली

हिमाल प्रेस ३ वैशाख २०८२ ७:०५ | Wednesday, April 16, 2025
मन्त्रिपरिषद‍्बाट सम्बोधन गर्नुपर्ने मागमा बेवास्ता भयो, सरकारले शिक्षक आन्दोलन कमजोर बनाउन खोज्यो : संयोजक पराजुली

काठमाडौँ- नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारले जारी शिक्षक आन्दोलनलाई कमजोर बनाउन लागेको बताएकी छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले विद्यालय शिक्षा विधेयक–२०८० पारित गर्न वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेपछि संयोजक पराजुलीको बुधबार विहान उक्त भनाइ आएको हो।

पराजुलीले सामाजिक सञ्जालमा भनिन्,‘आदरणीय शिक्षक कर्मचारी साथीहरू, झुट्टा हल्लाकोपछि नलाग्न सबैमा अनुरोध। नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीचमा गत २०८० असोज ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने मागमुद्दाहरूलाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाई प्रतिगामी शिक्षा ऐन जारी गरी नेपालको सार्वजनिक शिक्षालाई पुर्ण रूपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको छ।’

संयोजक पराजुलीले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र कुनै बहानावाजी नगरी काठमाडौँ केन्द्रित हुन अनुरोध गरेकी छन्।

शिक्षक आन्दोलन आज १५ औं दिनमा पुगेको छ।

प्रकाशित: ३ वैशाख २०८२ ७:०५ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast