मध्यरातमा पाकिस्तानी मन्त्रीको दाबी : भारतले २४ देखि ३६ घण्टाभित्र सैन्य आक्रमण गर्न सक्छ

हिमाल प्रेस १७ वैशाख २०८२ ८:३३ | Wednesday, April 30, 2025
मध्यरातमा पाकिस्तानी मन्त्रीको दाबी : भारतले २४ देखि ३६ घण्टाभित्र सैन्य आक्रमण गर्न सक्छ

पाकिस्तानले आगामी २४ देखि ३६ घण्टाभित्र भारतले आफ्नो मुलुकमा आक्रमण गर्न सक्ने दाबी गरेको छ। पाकिस्तानका सूचना एवं प्रसारणमन्त्री अताउल्लाह तरारले खुफिया जानकारी प्राप्त भएको बताउँदै मध्यरातमा यस्तो दाबी गरेका हुन्।

मन्त्री तरारले सामाजिक सञ्जाल एक्समा स्थानीय समयअनुसार बिहान तीन बजे एउटा भिडियो पोस्ट गरेर भारतले पाकिस्तानमाथि आक्रमण गर्ने बताएका छन्। उनले भनेका छन्,‘पाकिस्तानलाई विश्वसनीय खुफिया जानकारी प्राप्त भएको छ कि भारत पहलगाम घटनामा संलग्न भएको निराधार आरोपको बहानामा आगामी २४ देखि ३६ घण्टाभित्र पाकिस्ताविरुद्ध सैन्य कारबाही गर्ने तयारी गरिरहेको छ।’

पाकिस्तान स्वयंं आतंकवादको शिकार रहेको र यो संकटको पीडालाई राम्ररी बुझेको तारारले बताएका छन्। उनले भनेका छन्, ‘पाकिस्तान आफैँ आतंकवादको शिकार बनिरहेको छ। यो संकटको पीडालाई राम्ररी बुझेको छ। हामीले आतंकवादको सबै रुप र अभिव्यक्तिलाई सधैँ आलोचना गरेका छौँ।’

तरारले भारतको तर्फबाट हुने सबैखाले सैन्य कार्यबाहीको जवाफ दिन पाकिस्तान तयार रहेको बताएका छन्। यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक अन्तर्वार्तामा भारतले चाँडै आक्रमण गर्न सक्ने बताएका थिए।

२२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरुलाई लक्षित गरेर आतंकवादी आक्रमण भएको थियो। त्यो आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

यो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। पहलगाम आक्रमणमा आतंकवादीहरुलाई पाकिस्तानले सहयोग गरेको आरोप लगाएको छ।

पहलगाम आक्रमणपछि भारतले पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बन गर्नुका साथै भारतमा रहेका सबै पाकिस्तानी नागरिकको भिसा रद्द गरी पाकिस्तान फिर्ता पठाएको छ।

प्रकाशित: १७ वैशाख २०८२ ८:३३ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast