भक्तपुरमा बिस्का जात्रा सुरु, तौमढीबाट भैरवको रथ तानिँदै

हिमाल प्रेस २८ चैत २०८१ १७:४५ | Thursday, April 10, 2025
भक्तपुरमा बिस्का जात्रा सुरु, तौमढीबाट भैरवको रथ तानिँदै

भक्तपुर-  ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको बिस्का जात्रा आजबाट सुरु भएको छ। आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने यो जात्रा तौमढीस्थित भैरवनाथको रथ तानेर सुरु गरिएको हो।

आज बिहानैदेखि तौमढीमा भैरवको रथमा पूजा गर्न सर्वसाधारणको भीड लागेको थियो। गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीका अनुसार बिहान नित्य पूजा सम्पन्न भएपछि सर्वसाधारणका लागि रथमा पूजा खुला गरिएको हो। दिउँसो १ बजेसम्म गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा सम्पन्न गरेपछि अन्य समुदायको पूजा सम्पन्न गरी रथ तान्ने कार्य थालिएको हो।

गुठी संस्थानले तान्त्रिक विधिपूर्वक भैरवनाथ र बेताललाई रथमा विराजमान गराई हनुमान ढोकाबाट ल्याइएको खड्ग, तरबार र निशान राखेपछि जात्रा विधिवत रूपमा सुरु भएको हो। यस वर्ष भने रथ अपराह्न ५ बजेसम्म गःहिटी पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

जात्राको दोस्रो चरणमा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित लिङ्गो उठाइने कार्यक्रम तय गरिएको छ। वैशाख १ गते लिङ्गो ढाल्ने र वैशाख ५ गतेसम्म रथ तानी जात्रा समापन गरिनेछ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘जात्राको सम्पूर्ण गतिविधि सीसी क्यामेराबाट निगरानी भइरहेको छ। सादा पोसाकका सुरक्षाकर्मी मोबाइलबाट फोटो, भिडियो खिचेर अनुगमन गरिरहेका छन्’ उनले भने।

जात्रामा करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २८ चैत २०८१ १७:४५ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast