बजेट अभावले बनेन अस्पताल

हिमाल प्रेस ३ वैशाख २०८२ ९:०६ | Wednesday, April 16, 2025
बजेट अभावले बनेन अस्पताल

बागलुङ- बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ। गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो।

निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो। आठ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो। तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए।

पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ। विसं २०८० भदौमा बुझाएको एक करोड १० लाखको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए।पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाख रुपैयाँसहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनले बताए।

लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए। पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले संघीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरै रहेको बताए। गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ।

आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन्।

प्रकाशित: ३ वैशाख २०८२ ९:०६ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast