काठमाडौँ- प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ। बिहान ११ बजे सुरु भएको बैठकमा भन्सार विधेयक पारित गर्ने कार्यसूची छ।
बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस अगाडि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ।

                                             
                                             
                                             
                                             
                                             
                                             

