 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न आइतबार नागरिक उड्डयन कार्यालय पोखरामार्फत मागपत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका नेताहरू। तस्बिर स्रोत : रास्वपा
                             पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न आइतबार नागरिक उड्डयन कार्यालय पोखरामार्फत मागपत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका नेताहरू। तस्बिर स्रोत : रास्वपा 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रतिनिधिमण्डलले आइतबार नागरिक उड्डयन कार्यालय पोखरामार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग यस्तो माग गरेको हो। पार्टीले संसदीय समितिको सिफारिसअनुसार भ्रष्टाचार छानबिन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले छानबिन गरी विमानस्थल निर्माणको ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उपसमितिले तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक तथा कर्मचारीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधिका विभिन्न निर्णय प्रक्रियामा संलग्न राजनीतिक नेतृत्वहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको हुँदा तत्कालीन अवस्थाका निर्णय प्रक्रिया र कार्यान्वयनको तहमा रहेका राजनीतिक नेतृत्वहरुलाई समेत छानबिनको दायरामा ल्याउन संसद्को चौथौ ठूलो दलको हैसियतमा जोडदार माग गर्दछौँ’, रास्वपाको गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले मन्त्री पाण्डेलाई बुझाएको मागपत्रमा उल्लेख छ।
सार्वजनिक खरिद ऐनविपरीत थप लागतमा ठेक्का स्वीकृत गरिएको, मूल सम्झौताविपरीत कर छुट दिनका लागि नयाँ सम्झौता गरिएको, रिठ्ठे डाँडा कटान, एसी जडान, रनवे, ट्याक्सी वे, बाँध तथा नाली निर्माणका क्रममा अनियमितता देखिएको सन्दर्भमा छानबिन उपसमितिको प्रतिवेदन तत्काल अघि बढाउन रास्वपाले माग गरेको छ।
‘दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया थाल्न माग गर्दछौँ। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँछौँ’, पत्रमा उल्लेख छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 