 भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्तिका) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसँग सोमबार नयाँदिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंह। तस्बिर स्रोत : भट्टराईको सचिवालय
                             भारत भ्रमणमा रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्तिका) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसँग सोमबार नयाँदिल्लीमा भारतका रक्षामन्त्री राजनाथ सिंह। तस्बिर स्रोत : भट्टराईको सचिवालय 
                                            काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको कूटनीतिक सम्बन्धलाई ‘ट्रयाक टु डिप्लोमेसी’ मार्फत लयमा ल्याउने प्रयत्न गरेका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्षसमेत रहेका भट्टराईले भारत भ्रमणका क्रममा त्यहाँका उच्च नेतृत्वसँग भेट गरी नेपाल-भारत सम्बन्धलाई हार्दिकतापूर्ण बनाउने प्रयास गरेका हुन्।
पछिल्लो समयमा नेपाल-भारतबीचको कूटनीतिक सम्बन्ध त्यति सुमधुर नरहेको टिप्पणी भइरहेका बेला भट्टराईको पहलले सकारात्मक परिणाम ल्याउन सक्ने अपेक्षा कूटनीतिक क्षेत्रका जानकारहरूको छ।गैरसरकारी स्तरबाट हुने कूटनीतिक सम्बन्धको सुधार प्रयासलाई ‘ट्रयाक टु डिप्लोमेसी’ भनिन्छ।
भट्टराईले भारतमा रहँदा भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता एवम् रक्षामन्त्री राजनाथ सिंह, बीजेपीका पूर्वअध्यक्ष मुरलीमनोहर जोशी, पूर्वउपाध्यक्ष भगतसिंह कोसियारीलगायतसँग भेट गरी दुई देशबीचको सम्बन्धबारे कुराकानी गरेका थिए।
गत असारमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले लगातार प्रयास गर्दा पनि उनको भारत भ्रमण तय हुन सकेकाे छैन। यसैगरी मे महिनामा काठमाडौँमा हुन लागेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पठाइए पनि आउने या नआउने कुनै जबाफ आएको छैन। प्रधानमन्त्री ओली र मोदीबीच बहुपक्षीय मञ्चमा दुईपटक भेटवार्ता भए पनि नयाँदिल्लीले अझै ओलीलाई रातो कार्पेट ओछ्याउने संकेत गरेको छैन।
यही बेला डा. भट्टराई गरेको भारत भ्रमणलाई नेपालको कूटनीतिक र राजनीतिक क्षेत्रमा चासोका साथ हेरिएको छ। यद्यपि भट्टराईले भने निजी भ्रमणमा भारत गएका बेला पुराना साथी र नेपालप्रति माया गर्ने नेताहरूसँग भेटघाट गरेको बताएका छन्।
डा. भट्टराईसँगै रहेकी पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईले भारतीय नेताहरूमा नेपालको राजनीतिक अस्थिरबारे चिन्ता देखिएको थियो। उनीहरूले यसबारे चासो राखेको जानकारी दिँदै मानुषीले भनिन्, ‘भेटमा त्यसलाई चिर्ने काम भएको छ। सबै दृष्टिबाट भेटघाट राम्रो भएको छ।’
मानुषीले बीजेपी नेता एवम् रक्षामन्त्री सिंहसँग नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा छलफल भएको जानकारी दिइन्। उनका अनुसार राजनीतिक नेतृत्वले आर्थिक र विकासको कार्यमा जोड दिनुपर्ने सुझाव भारतीय पक्षको छ। भारतीय नेताहरूले दुईपक्षीय सम्बन्धमा आएका समस्या प्रधानमन्त्री तहमा छलफल गरेर समाधान गर्न सुझाएका जानकारी पनि मानुषीले दिइन्।
केही भारतीय नेताहरूले नेपाल लोकतन्त्रविरुद्ध जान लागेको हो भन्ने जिज्ञासा पनि राखेका थिए। मानुषीले भनिन्, ‘डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नभएर निर्वाचन प्रणाली, शासकीय प्रणालीमा भएको त्रुटिले केही अस्थिरता देखिएको जानकारी गराउनुभएको थियो।’ केही विषयमा नागरिकको असन्तुष्टि छ त्यसलाई सम्बोधन गरेर गएमा मुलुकमा राजनीतिक स्थिरता आउने भट्टराईको भनाइ थियो।
यसैगरी भट्टराईले सरकारमा रहेका दलका केही नेताका प्रवृत्तिका कारण केही समस्या देखिएको बताएका थिए। उनले नेपाली जनतामा देखिएको आक्रोश राजनीतिक प्रणाली भत्काउन नभई भ्रष्टाचार र कुशासनप्रति रहेको प्रस्ट पारेका थिए। डा. भट्टराईसँगको भेटमा नेता सिंहले नेपाल-भारत सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका थिए। उनले नेपालमा राजनीतिक घटनाक्रमलाई भारतले नजिकबाट नियालेको र नेपाली नागरिकले हासिल गरेको उपलब्धिलाई भारतको साथ र समर्थन रहने प्रतिबद्धता जनाएको जानकारी भेटमा सहभागी मानुषीले दिइन्। विकास र आर्थिक गतिविधिमा नेपाल सरकार अघि बढ्नुपर्नेमा सिंहको जोड थियो।

भारतीय नेताहरूसँगको भेटमा डा. भट्टराईले दुईपक्षीय प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै पक्षले बुझेर सुधार गर्न आग्रह गरेका थिए। नेपाल-भारत प्रबुद्ध समूह भट्टराई प्रधानमन्त्री भएका बेला नै बन्ने गरी तयारी अघि बढेको थियो। डा. भट्टराई प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा यो विषय संयुक्त वक्तव्यमा परेको थियो।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा समूह गठन भएको थियो। सोही समूहले तयार पारेको प्रतिवेदन भारतीय पक्षले अझै बुझेको छैन। डा. भट्टराईले भारत जानुअघि प्रबुद्ध समूहको नेपाली पक्षका संयोजक रहेका डा. भेषबहादुर थापासँग भेट गरेका थिए। यसैगरी डा. भट्टराईले भारतीय पक्षका संयोजक रहेका भगतसिंह कोसियारीसँग भेटेर ईपीजी प्रतिवेदन ग्रहण गरी समस्या समाधान गर्न आग्रह गरेका थिए।
डा. भट्टराईले ईपीजी प्रतिवेदनलाई आधार बनाएर छलफल अघि बढाउँदा राम्रो हुने बताएका थिए। ‘ईपीजी प्रतिवेदन एउटा सुझाव प्रतिवेदन हो त्यसका राम्रा पक्ष दुईपक्षीय रुपमा लागू गर्न सरकार तहमा लामो वार्ताको प्रक्रिया हुनुपर्छ। यसलाई अन्तिम मान्नु हुँदैन’, भट्टराईले भारतीय नेताहरूसँग भनेका थिए।
मानुषीले भनिन्, ‘नेपालको राजनीतिक अवस्थालाई भारतले नजिकबाट नियालेको र चिन्ता व्यक्त गरेको बुझ्न सकिन्छ।’
डा. भट्टराईसँग प्रमुख प्रतिपक्ष दलका नेताहरूले पनि छलफल गरेका छन्। अन्य नेताहरू भारत जाँदा प्रायः सत्ता पक्षसँग मात्र भेट्छन्। भट्टराई प्रतिपक्षलाई पनि उत्तिकै महत्त्व दिएर भेट्ने नेतामा चिनिन्छिन्। उनले आफू सरकारमा रहँदा पनि प्रतिपक्ष दलका नेतासँग भेटघाटको चाँजोपाँजो मिलाउँथे।
डा. भट्टराईसँग प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका नेता एवं पूर्वमन्त्री जयराम रमेशले भेट गरेका थिए। साना दलका नेताहरुले पनि भेटवार्ता गरेर डा. भट्टराईले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरूमा रहेको जिज्ञासा मेट्ने प्रयास गरेको नेत्री मानुषीले बताइन्। डा. भट्टराईसँग नेपालका लागि पूर्वभारतीय राजदूतहरू श्याम शरण, राकेश सुद, रञ्जित रे, मञ्जिवसिंह पुरी एवं परराष्ट्र विज्ञहरू प्रा. मुनी र प्रा. मट्टु र वरिष्ठ सञ्चारकर्मी भारत भूषणले पनि भेटघाट गरेका थिए।
दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘भट्टराईसँग अझ माथिल्लो तह र अन्य राजनीतिक भेट हुने कार्यक्रम थियो तर पहलगाम घटनाले भेटघाट मिलेन।’
भारतीय पक्षले नेतृत्वमा रहेको व्यक्तिहरू साँच्चै भ्रष्ट हुन् भने उनीहरूलाई नयाँ पुस्ताको नेतृत्वले कारबाहीमा लैजान सक्नुपर्ने सुझाव दिएको छ। यसका लागि कस्तो नेतृत्व आवश्यक हुने भन्ने विषयमा डा. भट्टराईसँग सत्तारुढ दलले छलफल गरेको भारतीय पक्षका अधिकारीको दाबी छ।
ती अधिकारीका अनुसार भारतीय दृष्टिकोणमा डा. भट्टराई केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा बढी बुझेका र आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता हुन्। भट्टराईसँग संगठन गतिलो नभएको भन्ने बुझाइ भारतीय नेतृत्वको छ। ती अधिकारीले भने, ‘भट्टराईको भ्रमणमा नेपाल-भारत सम्बन्धबारे समीक्षा पनि भयो। वर्तमान सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलले भोटको राजनीतिले सम्बन्ध धरापमा पार्ने काम गरेकोमा भारतीय पक्षबाट चिन्ता व्यक्त भएको छ।’
भारतीय नेताहरूले राजतन्त्र समर्थकको सडक आन्दोलनबारे पनि चासो राखेका थिए। डा. भट्टराईले हिन्दुवादी कुरा गर्नु आफ्नो विचार भए पनि राजतन्त्र पुनर्स्थापनाको मुद्दा लोकतन्त्रविरोधी कार्य भएको बताएको भारतीय ती अधिकारीले जानकारी दिए। धर्मसंस्कृति जोडेर राजतन्त्र पुनर्स्थापना सम्भव नहुने विषयमा डा. भट्टराईले भारतीय नेताहरूलाई प्रस्ट पारेका थिए।
नेताहरूसँगको भेटमा डा. भट्टराईले भारतसँगको सम्बन्धमा देखा परेको चिसोपना हटाउन दुई पक्षबीच खुलेर छलफल हुनुपर्नेमा जोड दिएका थिए। नेपालबाट मात्र नभएर भारतका तर्फबाट पनि उत्तिकै पहलकदमी हुनुपर्ने सुझाव भट्टराईको थियो।
नेपाल र भारतबीचको सीमा समस्या प्रधानमन्त्रीकै तहमा संवाद गरेर समाधान गर्नुपर्ने सुझाव भट्टराईले भारतीय नेताहरूलाई दिएका छन्। सीमाको विषय लिएर दुईपक्षीय सम्बन्ध ठप्प पार्न नहुने डा. भट्टराईको भनाइ थियो। १९५० को सन्धिलगायतका विषय कूटनीतिक तहबाट हल गर्दै समाधानको बाटोमा जानुपर्नेमा उनले जोड दिएका छन्।
भारतीय नेताहरूसँगको भेटमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले कस्मिरको पहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी आक्रमणको निन्दा गर्दै दुःख व्यक्त गरेका थिए। डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनका निम्ति फरिदाबाद पुगेका थिए। त्यहाँबाट फर्केपछि उनले सोमबार नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका हुन्। डा. भट्टराई चारदिने अनौपचारिक भ्रमण सकेर मंगलबार काठमाडौँ फर्कँदै छन्। उनले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।


 
                                              
                                             ![[टिप्पणी] प्रमाणित भएको बाबुरामको दृष्टि](https://himalpress.com/wp-content/uploads/2025/10/prakash.jpeg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 