नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे भारतीय लगानीकर्तासँग छलफल

हिमाल प्रेस ७ वैशाख २०८२ १२:०७ | Sunday, April 20, 2025
नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे भारतीय लगानीकर्तासँग छलफल

बाँके- नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ।

नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताए। ‘नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ’, उनले भने।

स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले भारतीय लगानीकर्तासँग सहकार्य गर्न खोजिएको उनले उल्लेख गरे।

नरैनापुर–२ र ४ मा जग्गाको व्यवस्थापन गर्न सकिने जनाउँदै अध्यक्ष शाहले लगानी गरेपछि त्यसको परिणाम आउने गरी काम गरिने जानकारी दिए।

लुम्बिनी प्रदेशसभाका सांसद कृष्ण केसी, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली, सौर्य ऊर्जाका विज्ञ भरत विश्वकर्मालगायतको सहभागितामा भारतीय लगानीकर्तासँग नयाँ परियोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ।

नरैनापुरसहित बाँकेलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ लगानी लाग्ने भन्दै उक्त लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताए।

सरकारीस्तरबाट सहज रूपमा समन्वय भए निकट भविष्यमा नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन गरी योगदान दिने उनले उल्लेख गरे।

उक्त परियोजनामार्फत सुरुमा १० मेगावाटका दरले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधैँ ग्रिडमा जोड्ने योजना रहेको हेडजेले जानकारी दिए।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार ५०० पिकवाट क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय पिकवाट क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैंक ऋण पाइने सुविधा छ।

यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैंकमार्फत उपलब्ध गराउनुपर्ने प्रावधान छ।

प्रकाशित: ७ वैशाख २०८२ १२:०७ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast