धकेलियो गभर्नर नियुक्ति प्रक्रिया, अर्थमन्त्री पौडेल भन्छन् : समितिको कमजोरी छैन

रमेश भारती १० वैशाख २०८२ १३:१२ | Wednesday, April 23, 2025
धकेलियो गभर्नर नियुक्ति प्रक्रिया, अर्थमन्त्री पौडेल भन्छन् : समितिको कमजोरी छैन

काठमाडौँ- नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिका एक सदस्य पूर्वगभर्नर डा.विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको हो। अर्थ मन्त्रालयका उच्च अधिकारीहरू अब गभर्नर नियुक्ति हुन कम्तीमा दुई साता लाग्ने बताउँछन्।

भट्टराईबाहेक समितिमा अर्का सदस्य अर्थविद् डा. विश्व पौडेल छन्। एक सदस्यले राजीनामा दिएपछि रिक्त रहेको समितिमा अर्थ मन्त्रालयले एकजना विज्ञ नियुक्त गर्ने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले डा.भट्टराईले राजीनामा दिएर रिक्त रहेको ठाउँमा अर्को सदस्य नियुक्ति गरी भर्नर नियुक्ति प्रक्रिया अघि बढाइने बताए। उनका अनुसार अहिलेकै समितिमा अर्को सदस्य नियुक्त गरेर नियुक्तिको प्रक्रिया अघि बढाइनेछ। ‘विभिन्न कारणले गर्दा समितिको बैठक बस्न सकेन। यसमा समितिको कमजोरी छैन। अदालतमा मुद्दासहितका विषय छन्। यस्तै कारणले गभर्नर नियुक्तिमा ढिलो भएको हो’, मन्त्री पौडेलले हिमालप्रेससँग भने।

राष्ट्र बैंकको गभर्नरजस्तो पदमा नियुक्ति गर्दा सामान्य सोच्नु नहुने अर्थमन्त्री पौडेलको तर्क छ। गभर्नर अर्थतन्त्र हाँक्न सक्ने मान्छे ल्याउनुपर्ने उनको भनाइ छ। समिति संयोजक अर्थमन्त्री पौडेलले २१ दिनदेखि बैठक नबोलाएको र अर्का सदस्य विश्व पौडेलले पनि चासो नदिएपछि राजीनामा दिन बाध्य भएको भट्टराईको दाबी छ।

अर्थमन्त्री पौडेलले राजनीतिक सहमति र परामर्श आवश्यक भएकाले बैठक नबसेको स्पष्ट पारे। सत्ताधारी दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउन सहमति भएको थियो। लगत्तै यो विषय सर्वोच्च अदालतमा प्रवेश गरेको छ भने यससम्बन्धी रिटमा सुनुवाइ तीन दिनदेखि अड्किएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्ड भ्रमणमा छन्। उनी फर्किएपछि समितिमा नयाँ सदस्य नियुत्ति गर्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।

डा. भट्टले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। राष्ट्र बैंक ऐन २०५८ मा गभर्नर नियुक्तिमा डेपुटी गभर्नरलाई सिफारिस गर्न सकिने व्यवस्था छ। सोही कारण कार्यकारी निर्देशकको रहँदै गभर्नरमा सिफारिस हुन ऐनले रोकेपछि भट्टले राजीनामा दिएका थिए।

प्रकाशित: १० वैशाख २०८२ १३:१२ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast