 
                             
                                            काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई ठक्कर दिई मार्ने उद्देश्यले गाडी चलाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै बर्तौलाले आन्दोलनका क्रममा प्रहरीले संयमता देखाएकोमा प्रशंसा गर्दै घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
‘त्यहाँ ठूलो मानवीय क्षति हुन सक्ने अवस्था थियो भन्ने हामी भिडियाेहरूबाट देख्न सक्छौं,’ बर्तौलाले भने,‘दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा आइसकेको भन्ने हामीले सुनेका छौं। कोही कसैलाई उन्मुक्ति नहोस्, कानुनअनुसार कारबाही होस् भन्नेमा सरकार दृढ होस्।’
साथै, उनले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनका अनुसार फागुन ७ गते पूर्वराजाले जनतालाई साथ दिन आह्वान गरेपछि राजावादी आन्दोलनले तीव्रता पाएको हो। उक्त आह्वानपछि भएका घटनाहरूसँग पूर्वराजाको अभिव्यक्तिलाई पनि समेटेर जिम्मेवारी तोक्नुपर्ने बर्तौलाले बताएका छन्।
‘उहाँले आह्वान गर्नुभयो- ‘समय आएको छ, जनता साथ दिऊन्’ भनेर। त्यसपछि घटनाहरू सुरु भएका छन्। तर त्यसपछि उहाँले कुनै प्रतिक्रिया दिनुभएको छैन,’ बर्तौलाले टिप्पणी गरे।
चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूसँग झडप भएको थियो। उक्त झडपमा प्रसाईले ‘प्रहरीमाथि गाडी चलाएको’ भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सरकारले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 