 
                             
                                            बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रेडपाण्डाको संरक्षणमा चुनौती बढिरहेको छ। रेडपाण्डाको मुख्य बासस्थान निगालोको झाडीको फँडानी र डढेलोका कारण यसको अस्तित्वमा खतरा उत्पन्न भएको छ।
रेडपाण्डा प्रायः निगालोको झाडीमा बस्ने गर्छ र यसका टुसाहरू खाएर बाँच्न सक्छ। तर, हालका वर्षहरूमा जंगलमा आगलागी र जंगलको फडानीले यसको संरक्षणमा समस्या उत्पन्न गरेको छ।
ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार यस आरक्षमा रेडपाण्डाको संख्या अहिले करिब २०० देखि ३०० बीच रहेको अनुमान गरिएको छ।
सुवेदीले भने, ‘२०७२ सम्म रेडपाण्डा ढोरपाटनमा छिटपुट थिए तर २०७४ मा सर्भे गर्दा सबै ब्लकहरूमा रेडपाण्डा भेटिए र अहिले बाक्लो मात्रामा देखिने गर्छ।’
रेडपाण्डाको संरक्षणका लागि सरोकारवाला निकाय र स्थानीय सरकारलाई जागरूक बनाउनु पर्ने आवश्यकता रहेको डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए। उनले भने, ‘रेडपाण्डा जस्तो लजालु जनावरलाई सामान्य बाधा पनि पुग्न नदिनु आवश्यक छ।’
नेपालका २३ हिमाली तथा पहाडी जिल्लामा रेडपाण्डा पाइन्छ र यसको संरक्षणका लागि निगालोको झाडीको रक्षा गर्न अत्यावश्यक छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 