 
                             
                                            पर्वत- जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउ खेतीबाट राम्रो आम्दानी गरेकी छन्। ११ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउ र तरकारी खेतीबाट बर्सेनि १२ लाखभन्दा बढी आम्दानी गरेकी छिन्।
चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ। यसवर्ष च्याउबाट मात्रै सात लाखभन्दा बढी आम्दानी भएको उनले बताइन्। ‘च्याउ खेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन्।
कच्चा पदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाखको बिक्री गर्छिन्। च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताइन्।
तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन्।
पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ,अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,’आचार्यले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 