चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा पुनः रात्रिकालीन उडान सञ्चालन गर्ने

हिमाल प्रेस २८ चैत २०८१ १७:१४ | Thursday, April 10, 2025
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा पुनः रात्रिकालीन उडान सञ्चालन गर्ने

काठमाडौँ– चाइना साउदर्न एयरलाइन्सले बिहीबारदेखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हो।

कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ। साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ। जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ।

‘अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबारमात्र हुने छ भने जुनदेखि अगस्तसम्म आइतबार र बिहीबार मात्र हुने छ। साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चाइना साउदर्नले यस अवधिमा उल्लेखनीय रूपमा सिट संख्या बढाउने योजनासमेत बनाएको छ। काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन्।

कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो।

उडान र सिट संख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पु¥याउने एयरलाइन्सको अपेक्षा छ।

‘यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ। यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पु¥याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ,’ कम्पनीले भनेको छ।

प्रकाशित: २८ चैत २०८१ १७:१४ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast