गलकोट नगरपालिकाको भवन निर्माणमा विलम्ब

हिमाल प्रेस १४ वैशाख २०८२ ९:३४ | Sunday, April 27, 2025
गलकोट नगरपालिकाको भवन निर्माणमा विलम्ब

बागलुङ- गलकोट नगरपालिकाको भवन निर्माणमा ढिलाइ भएको छ। निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्र काम भएको हो। भवन निर्माणका लागि निर्माण कम्पनी काठमाडौँले २०८१ साल मंसिर २९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७९ असार १४ गते सम्झौता भएको थियो।

निर्माण कम्पनीले समयावधिभित्र काम नसकेपछि कार्यापालिकाको बैठकले गत माघमा एक वर्ष म्याद थप गरेको थियो। म्याद थप गरेको महिनौँ बितिसक्दा पनि निर्माण कम्पनीले कामको गतिलाई बढाउन सकेको छैन। छतले भवनको हालसम्म पाँच तलामात्र ढलान भएको गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले जानकारी दिए।

भवन १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ लागतमा बन्न थालेको इन्जिनियर दाहालको भनाइ छ।

नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। गलकोट नगरपालिका–६ चरौँदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको छ।

भाडाको घरबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। लामो समयसम्म निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नगरपालिकाले बर्सेनि लाखौँ रकम घर भाडामा खर्चनुपरेको सुनाए।

अहिलेसम्म आधा काम पनि नहुँदा म्याद थप गरेको समयभित्र सम्पन्न हुने सम्भावना कम भएको भण्डारी बताउँछन्। आफूहरूले बारम्बार ठेकेदारलाई काम गर्न आग्रह गरे पनि बेवास्ता गरेको उनको भनाइ छ।

‘यो भवन एक वर्ष अगाडि नै सकिनुपर्थ्यो, विभिन्न समस्या होला भनेर नगरपालिकाले केही समय म्याद थप गरिदियो, तर अहिले पनि निर्माण कम्पनीले उदासिनता देखाएको छ’, प्रवक्ता भण्डारीले भने, ‘अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, अरूको घर भाडामा लिएर काम गर्दा समस्या भएको छ, एउटा घरमा सबै शाखा राख्न सकिँदैन, धेरै घरमा राख्दा सेवाग्राहीलाई पनि समस्या भएको छ।

प्रकाशित: १४ वैशाख २०८२ ९:३४ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast