 
                             
                                            बैतडी- हराउँदै गएको परम्परागत रैथाने बाली कोदोको संरक्षण र प्रवर्द्धनका लागि बैतडीको शिवनाथ गाउँपालिकाले अनुदान कार्यक्रम सुरु गरेको छ। प्रदेश सरकारबाट प्राप्त चार लाख रुपैयाँ बजेटमार्फत स्थानीय किसानलाई कोदो खेती गर्न प्रोत्साहन दिइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै कोदो खेतीमा ७०० प्रतिरोपनीका दरले अनुदान दिने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार पछिल्ला वर्षहरूमा किसान नगदेबालीतर्फ आकर्षित हुँदा परम्परागत बाली कोदो लोप हुने अवस्थामा पुगेको छ। ‘कोदोको खेतीमा आकर्षण घट्दै गएकोले संरक्षण र प्रवर्द्धनका लागि यो कदम चालिएको हो,’ अध्यक्ष साउदले भने।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महतका अनुसार कोदो खेती गर्ने इच्छुक किसानबाट आवेदन माग गरिएको छ। यसअघि पालिकाले गर्भवती महिलालाई कोसेलीका रूपमा कोदोको पिठो वितरण गर्ने निर्णय पनि गरिसकेको थियो।
अध्यक्ष साउदका अनुसार पालिकाभित्रका विद्यालयमा कोदोबाट बनेका परिकार दिवा खाजाका रूपमा उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। ६८ वर्षीय किसान नन्दराज भट्टका अनुसार आधुनिक कृषि प्रणाली, नगदेबाली र खानपानको शैलीमा आएको परिवर्तनका कारण कोदोको खेती घट्दै गएको हो। ‘कोदोको महत्व बिर्सेका किसान आलु, अदुवा र तरकारीखेतीमा लागेका छन्,’ उनले भने।
स्वास्थ्य पक्षबाट पनि कोदो अत्यन्त लाभदायक खाद्यान्न मानिन्छ। पोषणविद् र स्वास्थ्यकर्मीहरूका अनुसार कोदोमा पाइने प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम जस्ता तत्वहरूले पाचन प्रणाली सन्तुलनमा राख्न, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न र हृदय रोगको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 