‘कुखुरामा डुबेको थिएँ, बंगुर पालेर उठें’

हिमाल प्रेस १२ वैशाख २०८२ ८:२७ | Friday, April 25, 2025
‘कुखुरामा डुबेको थिएँ, बंगुर पालेर उठें’

म्याग्दी- बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन्। मंगला गाउँपालिका-५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।

‘कुखुरापालनमा असफल भएपछि ४ वर्षअघि १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बंगुर र बाख्रापालन सुरु गरेको थिएँ’, उनले भने, ‘कुखुरामा डुबेको थिएँ, बंगुर पालेर उठे।’

उनको फार्ममा हाल ५० वटा बंगुर र २० वटा बाख्रा छन्। मासु र पाठापाठीका लागि ल्याडरेस जातका बंगुर पालेका छन्। फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन्। सापकोटाले प्रतिकिलो ६ सयका दरले मासिक ६ हजारदेखि सात हजार किलोग्राम बंगुरको मासु र प्रतिगोटा सात हजारका दरले वार्षिक तीन सय बंगुरका पाठापाठी बिक्री हुने बताए।

मासुको बिक्री गर्न सापकोटाले मंगला गाउँपालिका-२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन्। सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बंगुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो।

परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मंगला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८२ ८:२७ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast