किसानलाई प्राविधिक सीप दिन वैकुण्ठेमा फलफूल खेती सिकाइ केन्द्र

हिमाल प्रेस २ वैशाख २०८२ ९:४७ | Tuesday, April 15, 2025
किसानलाई प्राविधिक सीप दिन वैकुण्ठेमा फलफूल खेती सिकाइ केन्द्र फाइल तस्बिर

भोजपुर- रामप्रसादराई गाउँपालिका-६ स्थित वैकुण्ठेमा किसानलाई व्यावसायिक फलफूल खेतीमा दक्ष बनाउने उद्देश्यसहित ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ।

स्थानीय वडाले बजेट विनियोजन गरेर स्थापना गरेको केन्द्रबाट किसानलाई खेती प्रविधिका विषयमा अभ्यासमूलक तालिम प्रदान गरिँदैछ।

वडाध्यक्ष एकराज आचार्यका अनुसार वैकुण्ठे क्षेत्र सुन्तला तथा अन्य फलफूल खेतीका लागि उपयुक्त क्षेत्र भएकाले त्यही अनुकूलता प्रयोग गरेर स्थानीयस्तरमै सिकाइ केन्द्र र नर्सरी स्थापना गरिएको हो।

‘हाम्रो भूगोल र माटोलाई सुहाउँदो बिरुवा यही उत्पादन गर्ने लक्ष्यसहित टनेलमार्फत नर्सरी सञ्चालन गरिएको छ,’ उनले बताए। गत आर्थिक वर्षमा करिब एक लाख ५० हजार रुपैयाँको लगानीमा स्थापना गरिएको केन्द्रमा किसानको सक्रियतामा दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएका छन्। उत्पादन भएका बिरुवा स्थानीय किसानलाई वितरण गरिनेछ।

स्थानीय किसान राजेन्द्रकुमार राईका अनुसार सिकाइ केन्द्रबाट किसानले रोग, कीरा व्यवस्थापनदेखि लिएर खेती प्रविधिसम्मको प्रयोगात्मक ज्ञान प्राप्त गर्दै आएका छन्। ‘हामीले कृषि प्राविधिकको निगरानीमा बिरुवा उत्पादन गर्ने, मलजलको तरिका, रोग नियन्त्रण जस्ता विषयमा व्यावहारिक तालिम पाइरहेका छौँ,’ उनले भने।

गाउँपालिकाको कृषि शाखा प्रमुख धिरज ठाकुरका अनुसार किसानलाई एकै ठाउँमा बोलाएर व्यावसायिक फलफूल खेती सम्बन्धी प्रशिक्षण दिइने भएकाले सिकाइ केन्द्रले राम्रै प्रभाव पारेको छ। ‘साधारण सीप मात्र होइन, प्रयोगात्मक रूपमा सिकाउन खोजिएकोले यसको प्रभावकारीता पनि देखिएको छ,’ उनले बताए।

यस कार्यक्रममार्फत वैकुण्ठेका किसानलाई स्वरोजगारको बाटो खोल्नुका साथै फलफूलखेतीमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको वडाले जनाएको छ।

प्रकाशित: २ वैशाख २०८२ ९:४७ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast