कांग्रेससँग भएको सहमतिअनुसार सरकार अघि बढेको छ : एमाले

हिमाल प्रेस १२ वैशाख २०८२ १५:२४ | Friday, April 25, 2025
कांग्रेससँग भएको सहमतिअनुसार सरकार अघि बढेको छ : एमाले नेकपा एमालेका सचिव गोकर्ण विष्ट

काठमाडौँ- नेकपा एमालेका सचिव गोकर्ण विष्टले हिंसात्मक गतिविधिबाट जनताको अधिकारलाई कमजोर बनाउने प्रयत्नविरुद्ध सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै विष्टले हिंसात्मक गतिविधिबाट मुलुकलाई पछि धकेल्ने र अधिकार कमजोर बनाउने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध खुट्टा नकमाई कानुनी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्।

उनले लोकतन्त्रमा सरकार बदल्ने, नेतृत्व बदल्ने अधिकार जनतालाई रहेको जनताले लोकतन्त्रको विकल्प निरंकुशता नखोजेको धारणा राखे। नागरिकले अहिलेको व्यवस्थामा देखिएको समस्याको समाधान मात्रै खोजेको भन्दै यसलाई बेलैमा ध्यान दिनुपर्ने सुझाव उनको छ।

विष्टले वर्तमान सरकार ढल्छ भन्दै निराशा र अस्थिरता पैदा गरिने प्रयास भइरहेको भन्दै त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे। सातबुँदे सहमतिलाई इमानदार ढंगले कार्यान्वयन गर्दै सरकार अघि बढ्ने उनको भनाइ छ।

दुई दलबीचको आपसी समझदारी र सहमतिका आधारमा अघि बढिरहेको भन्दै उनले कतै समस्या देखिए समाधान गर्ने संयन्त्र रहेको बताए।

कहिलेकाही सत्तामा रहेकाहरुको टिप्पणी सुन्दा प्रतिपक्षमा रहेको जस्तो महसुस हुने गरेको उल्लेख गर्दै विष्टले यस्तो अवस्थाबाट माथि उठेर गठबन्धन सरकारलाई मर्यादित ढंगले अघि बढाउन आग्रहसमेत गरे।

प्रकाशित: १२ वैशाख २०८२ १५:२४ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast