करका दरभन्दा दायरा बढाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल

हिमाल प्रेस ३१ चैत २०८१ १३:१२ | Sunday, April 13, 2025
करका दरभन्दा दायरा बढाउनुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन्।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रियामा ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राखेका हुन्।

यस्तै उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोड दिए।

सरकारले राजस्व संकलनलाई मात्र प्राथमिकतामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको उनको धारणा थियो।

‘आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दर उच्च छन्। यसले एकातर्फ खुला सिमानाको कारणले चोरी पैठारीलाई प्रोत्साहन गरेको छ। करका दरभन्दा दायरा बढाउनुपर्छ। राज्यले आयात प्रतिथापनका लागि उत्पादनलाई जोड दिनुपर्दछ , खनिजजन्य वस्तुको निर्यात खुलाउनुपर्छ’, अध्यक्ष ढकालले भने।

ढकालले विगत दुई वर्षदेखि रेमिट्यान्सको आन्तरिक कारोबार शून्य बनाइएकोले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पतालमा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समेत समस्या भोग्नुपरेकोले यसलाई पुनः सञ्चालन गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित: ३१ चैत २०८१ १३:१२ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast