औद्योगिक महोत्सवमा चार करोड व्यापार

हिमाल प्रेस ९ वैशाख २०८२ ८:२१ | Tuesday, April 22, 2025
औद्योगिक महोत्सवमा चार करोड व्यापार
भक्तपुर- नयाँवर्ष तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजित नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सोमबार सम्पन्न भएको छ।तीन लाखले अवलोकन गरेका उक्त महोत्सवमा करिब चार करोड रुपैयाँको व्यापार भएको हो।
‘नयाँ वर्ष नयाँ सोच युवाका लागि छ प्रगतिको स्रोत’भन्ने नाराका साथ औद्योगिक शान्ति नेपालले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत २८ गतेदेखि सुरु गरेको १२ दिने महोत्सवमा एक सय ५० भन्दाबढी प्रदर्शनी कक्ष रहेका संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए।
महोत्सव तीन लाख बढीले अवलोकन गरेको जनाउँदै उनले करिब चार करोड रुपैयाँको व्यापार भएको बताए। महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, भाँडाकुँडाका साथै विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, अटोमोबाइल, आधुनिक कृषिऔजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीमा उपभोक्ताको बढी घुइँचो रहेको बताउँदै ती सामानको खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको उनले जानकारी दिए।

महोत्सवका संयोजक दीपक थापाले घोडाचढी, बालउद्यान, ड्रागन ब्रेक डान्स, रोटेपिङ, रेनजर, मारुती सर्कस तथा विभिन्न प्रकारका बच्चाको खेलौनाका प्रदर्शनी कक्षमा बालबालिकाको घुइँचो लागेको बताए। उनका अनुसार स्थानीय खाना महोत्सवमा उपभोक्ताको आकर्षण थियो।

साहित्यकारदेखि कलाकारसम्म पुरस्कृत

समापन कार्यक्रममा संस्थाले चर्चित एवं कालजयी गीतका गीतकार सुवासचन्द्र ढुंगेललाई नगद पाँच हजारसहित सम्मान गरेको छ। सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उनलाई सम्मान गरेका हुन्।

दसदिनसम्म सञ्चालित खुला नृत्य प्रतियोगितामा प्रथम हुने पूर्णिमा विकलाई नगद ३० हजारसहित ट्रफी र प्रमाणपत्र, दोस्रो रतिस गिरीलाई २० हजारसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने सागर लामालाई नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। साथै सिद्धिस्मृति क्लबलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

सांगीतिक साँझले झुम्यो भक्तपुर

महोत्सवको अन्तिम दिन सोमबार आयोजित ‘भक्तपुर सांगीतिक साँझ’ले भक्तपुर परिसर झुमेको छ। साँझ ५ बजेदेखि चर्चित गायक एवं ब्याण्डहरू जी बब, मिस्टर डी र कमल खत्रीको प्रस्तुतिले सल्लाघारीको चौर सांगीतिक बनेको हो।

चर्चित लोकगायिका प्रतिमा अर्यालको सांगीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित बनाएको थियो। दर्जनौँ गायक गायिकाको प्रस्तुतिले औद्योगिक महोत्सव अन्तिम दिन सांगीतिक महोत्सवमा परिणत भएको आयोजक संस्थाका अध्यक्ष महतले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०८२ ८:२१ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast