आन्दोलनलाई सशक्त बनाउन सबै जिल्लाबाट सहभागी हुन विद्यालय कर्मचारीलाई परिषद्को आग्रह

हिमाल प्रेस १ वैशाख २०८२ ९:३२ | Monday, April 14, 2025
आन्दोलनलाई सशक्त बनाउन सबै जिल्लाबाट सहभागी हुन विद्यालय कर्मचारीलाई परिषद्को आग्रह

काठमाडौँ- नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षक आन्दोलन १३औँ दिनमा प्रवेश गर्दा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन थप सशक्त बनाउनका लागि  सहभागिता जनाउन सबै जिल्लाका विद्यालय कर्मचारीलाई आग्रह गरेको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा ७७ वटै जिल्लाका अध्यक्षहरू तथा सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई ‘मेरो आन्दोलन, मेरो सहभागिता’ भन्ने भावनासहित अनिवार्य रूपमा आन्दोलनमा उपस्थित हुन आह्वान गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको १३ दिनसम्म आइपुग्दा पनि सरकार शिक्षक-कर्मचारीका मागप्रति गम्भीर नदेखिएको अवस्थामा हामी सबै जिम्मेवार भएर आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता छ।’ परिषद्ले सरकारलाई माग पूरा गर्न बाध्य पार्न सबैको एकजुटता आवश्यक रहेको बताएको छ।

परिषद्ले आन्दोलनमा सक्रिय सहभागि भएका कर्मचारीहरूको नामावली जिल्ला अनुसार २४ घण्टाभित्र केन्द्रमा पेस गर्न निर्देशन दिएको छ। यस सम्बन्धमा कुनै जिल्लाबाट कर्मचारी छुट्ने वा गैरहाजिर हुने भएमा त्यसको प्रत्यक्ष जिम्मेवारी सम्बन्धित जिल्ला अध्यक्षले लिनुपर्ने स्पष्ट गरिएको छ।

महासचिव योगीले भनेका छन्, ‘‘मेरो अधिकारका लागि मैले गर्ने आन्दोलन, अहिले नगरे कहिले गर्ने, मैले नगरे कस्ले गर्ने’ भन्ने भावनाले सबै कर्मचारीहरूले यो महत्त्वपूर्ण समयमा आन्दोलनमा गहिरो सहभागिता जनाउनुपर्छ।’

प्रकाशित: १ वैशाख २०८२ ९:३२ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast