 
                             
                                            काठमाडौँ- नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली परिवारको कथा झल्काइएको छ।
सिरिज एमएसएम भिडियोमा सिरिज यही वैशाख दोस्रो साता एकै पटक १२ एपिसोड स्ट्रिमिङ हुने निर्माण टिमले बताएको छ।कमेडी-ड्रामा विधामा आधारित सिरिजको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो। विवेक चम्लागाईंले सिरिजको कथा, पटकथा र संवाद लेखेका हुन्।
अमेरिका पुगेका नेपाली अभिभावक र लिभ-इन रिलेसनसिपमा रहेका छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्ने सिरिजका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले बताए। उनले भने, ‘नेपालीहरू अमेरिकामा बस्दा जीवनमा के कस्ता घटना घट्छन्, जीवनशैली कस्तो हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाएका हौँ।’ उनका अनुसार, सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्म-पहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ ।
अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि यही सिरिजमार्फत अभिनयमा फर्किएकी छन्। उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन्। यसकासाथै अन्य कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा छन्।
रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा छन्। सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण भएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 