अण्डाको मूल्य उकालो

हिमाल प्रेस १४ वैशाख २०८२ ८:३३ | Sunday, April 27, 2025
अण्डाको मूल्य उकालो फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ। लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछी केही राहत महसुस गरेका छन्।

गत वर्ष प्रतिक्रेट (३० गोटा)को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँ मा झरेको थियो।

संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए।

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी तीन हजार १४०, ठूलो अण्डा तीन हजार रुपैयाँ र मझौलाको दुई हजार ६५० रुपैयाँ कायम गरिएको छ। योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ रुपैयाँ पर्न आउँछ।

अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँ सम्म पुगेको थियो। सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ।

उनले भने, ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।’ उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ।

‘संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ’, उनले भने,’अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन्। अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।’

नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन्।

प्रकाशित: १४ वैशाख २०८२ ८:३३ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast