उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन

हिमाल प्रेस १७ वैशाख २०८२ १२:२१ | Wednesday, April 30, 2025
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो।

उक्त निर्देशनानुसार आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउनपर्ने छ।

निर्देशनले बिरामीको उपचार तथा पुनःपरीक्षणमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। उनका अनुसार यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदाहुँदै अस्पताल बाहिर पठाउने (रिफर) रोक्ने अपेक्षा गरिएको छ।

‘हाल चिकित्सकीय विवरण चिकित्सकको सिफारिस (पेस्क्रिप्सन)मा पूरा नहुँदा बिरामीको उपचार तथा त्यस क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको छ। अब चिकित्सकीय विवरण अनिवार्य गरिँदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ’, उनले भने।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरूलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिँदै आएका छन्। जारी निर्देशनले यसमा योगदान पुग्ने अपेक्षा गरिएको उनको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १२:२१ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast