
पोखरा- हिमालय एयरलायन्सले चीनको ल्हासा र पर्यटनको राजधानी पोखरा जोड्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरेको छ ।
ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको हिमालय एयरलायन्स सोमबार दिउँसो १ बजेर ५५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको हो । तीमध्ये ३२ जना चिनियाँ र ७५ जना नेपाली नागरिक हुन् ।
निर्माणको २ वर्ष बितिसक्दा आन्तरिकबाहेक एक दर्जनमात्र अन्तर्राष्ट्रिय चार्टर उडानमा सीमित बनेको यो विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनी हिमालय एयरलायन्स बनेको छ ।
काठमाडौंदेखि ल्हासाहुँदै पोखरा अवतरण भएको जहाजका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरे।
पोखरा–ल्हासा जोड्न सातामा एक उडान गर्ने तालिका निर्धारण गरिएको हिमालय एयरलायन्स कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । सोमबार आएको जहाज राति यही बसेर मंंगलबार ल्हासाका लागि उड्ने छ ।
ल्हासा–पोखरा पहिलो उडानपछि आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियमित उडानका लागि सरकारको तर्फबाट सक्दो सहयोग हुने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, हिमालय एयरलायन्सका अध्यक्ष जो इन्योङ्ग, नागरिक उड्डयन प्राधिकरणका नायब महानिर्देशक चन्द्रलाल कर्ण नियमित अन्तर्राष्ट्रिय उडानसँगै पोखरा क्षेत्रको पर्यटन विकासमा निकै मद्दत मिल्ने अपेक्षा व्यक्त गरे । उनीहरुले सातामा एकपल्ट हुने उडान यात्रुको चापसँगै नियमित हुने पनि सदीक्षा राखे ।
विमानस्थल प्रवक्ता जशोदा सुवेदीका अनुसार विमानस्थल संचालनयता १३ अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । पहिलोपल्ट पोखरा–ल्हासा रुटमा सेड्युअल फ्लाइटले भने नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान नभएको गुनासो केही भए पनि चिर्न सफल भएको बताइन् ।
हिमालय एयरलायन्स कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार नेपालमा हाल आन्तरिक एयरपोर्ट ५४ मध्ये २० वटा अप्रेसनमा छैनन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउनका लागि पनि नेपाल सरकारले एयरपोर्ट भन्ने ‘पसल थापेको’ र आफूहरुले सामान बेचेको बताए ।
यसैबीच, अघिल्लो साता पोखरा–छेन्दु व्यावसायिक चार्टर उडान गरेको सिचुवान एयरलायन्स मंगलबार फेरि पोखरा आउँदैछ । पोखरा अवतरणपछि यहाँका उद्योग व्यवसायीहरुलाई लिएर उक्त एयर छेन्दु फर्किनेछ ।