कमल कोइराला : कांग्रेस परिवारका कम्युनिस्ट विद्रोही

किरण पौडेल १८ चैत २०८१ १८:२८
40
SHARES
कमल कोइराला : कांग्रेस परिवारका कम्युनिस्ट विद्रोही

काठमाडौँ- वामपन्थी नेता, लेखक र पूर्वराजदूत कमल कोइरालाको ८५ वर्षको उमेरमा निधन भएको छ। आइतबार राति सिनामंगलस्थित केएमसी अस्पतालमा कोइरालाले अन्तिम सास फेरे। केही दिनअघिसम्म हिँडडुल गरिरहेका कमललाई एकाएक हृदयाघातमा भएको थियो।

पत्रकार किशोर श्रेष्ठका अनुसार तीन दिनअघि कमल घरमै लडेका थिए। उनलाई परिवारले अस्पताल पुर्‍यायो। श्रेष्ठले भने, ‘उहाँ अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो।’ नजिकबाट चिन्नेहरू कमललाई विद्रोही नेता भन्न रुचाउँछन्। उनले जीवनपर्यन्त विद्रोह देखाइरहे। चाहे परिवारमा होस् वा पार्टीमा उनको विद्रोहको झिल्को देखिन्थ्यो।

कमलको परिवार कांग्रेस थियो– हो। उनी यस्तो परिवारमा जन्मिए, जसमा जुन परिवारका तीन दाजुभाइले प्रधानमन्त्री बन्ने सौभाग्य पाए। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद र बीपी कोइरालाका भतिजा हुन्। बीपी, मातृका र गिरिराज त कांग्रेसकै सभापति बने। कमल कम्युनिस्ट।

कमलको जन्म १९९५ वैशाखमा विराटनगर कोइराला निवासमा भएको थियो। जन्मेको सात महिनाकै उमेरमा काठमाडौँ ल्याइएको यो। पिता मातृकाप्रसाद कोइराला वन विभागको सरकारी जागिरे थिए। एकजना ब्रिटिस अफिसर वन विभागको सल्लाहकारका रूपमा कार्यरत थिए।

बुवा तिनै ब्रिटिस अफिसरको मुख्य सहयोगी अधिकृतका रूपमा कार्यरत थिए। बुवाको अंग्रेजी भाषा राम्रो भएकाले ब्रिटिस अफिसरसँग खटाइएको थियो। काठमाडौँको बसाइँ सुखद थियो। २००१ सालमा राणाशासनविरोधी गतिविधि गरेको आरोपमा बाजे कृष्णप्रसाद कोइरालालाई पक्राउ गरेर जेल हालियो। बुवाको जागिर खोसियो। राणाहरूले कोइराला परिवारको उठीबासजस्तै गराए।

राणाहरूले दुःख दिन सुरु गरेपछि काठमाडौँ बसाइ अप्ठ्यारो भयो। उनीहरू सपरिवार विराटनगर फर्किए। कममले विराटनगरको श्री ३ जुद्ध हाइस्कुलमा पढ्न थाले। कक्षा ६ सम्म त्यही स्कुलमा शिक्षादीक्षा भयो। २००३ सालमा विराटनगरको जुट मिलमा श्रमिकहरूले हडताल गरे।

हडताललगत्तै बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइरालालगायत पक्राउ परे, मातृकाप्रसाद कोइराला मात्रै बाहिर। त्यसपछि मातृकाप्रसादलाई विराटनगर जुटमिलको श्रमिक आन्दोलनको प्रमुख बनाइयो। विराटनगरमा बसेर त्यो आन्दोलन सम्भव थिएन।

बुवाको भारतमा निर्वासन जीवन सुरु भयो। मातृकाप्रसाद कोइराला २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक अध्यक्ष बने। यही क्रममा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेस बन्यो। २००६ सालमा नेपाली कांग्रेसको संस्थापक सदस्य र पहिलो सभापति बने।

कांग्रेस सशस्त्र क्रान्तिको तयारी गरिरहेको थियो। क्रान्तिमा परिवार असुरक्षित हुने भएपछि मातृकाप्रसादले उनीहरु सबैलाई भारतको बनारस लगे। कमलले कक्षा सातदेखि भारतमै पढ्न थाले।

त्यसपछि कम्युनिस्ट बने

देशभर राणाविरोधी आगो सल्किरहेको थियो। बनारसबाट एसएलसी पास गरेपछि विज्ञान विषय लिएर पढ्न थाले। काठमाडौँ आउने विचार गरे। काठमाडौँ फर्केर त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना भए।
बनारस रहँदासम्म राजनीतिप्रति उनको रुचि थिएन। निर्मल लामालगायतका नेताहरूसँगको भेट बाक्लै थियो। लामा बनारसमा नेपाली कांग्रेसको कार्यालय सचिव थिए। त्यहाँ छँदा पनि लामासँग उनको धेरै पटक भेट भएको थियो। तिनै निर्मल लामा त्रिचन्द्र क्याम्पसमा भेटिए। त्यतिबेलासम्म लामा कम्युनिस्ट भइसकेका थिए। त्यसपछि कोइराला कम्युनिस्ट बनेका हुन्।

‘उहाँ (कमल) मार्क्सवादबाट प्रभावित भएर कम्युनिस्ट हुनुभएको हो। मार्क्सवादको गहन अध्ययनपछि उहाँ कम्युनिस्ट बन्नुभयो’, वामपन्थी नेता युवराज ज्ञवाली भन्छन्, ‘उहाँले विशिष्ट किसिमको विद्रोह गर्नुभएको थियो। जुन अवसरका लागि थिएन।’

प्रधानमन्त्रीका छोरा कमलले राज्यबाट जे पनि अवसर लिन सक्थे। राज्यबाट लाभको पद लिन सक्थे। १६ वर्षको उमेरमा निर्मलकै योजनामा उनी जुलुसमा पनि पुग्थे। ‘विद्रोही स्वाभावका उनलाई प्रहरीले पक्राउ गरेछ। माृतका प्रधानमन्त्री हुँदा छोरा पक्राउ परे’, पुराना पत्रकार श्याम रिमाल भन्छन्।

किलागलबाट जुलुसको अगुवाइ गर्दै इन्द्रचोक पुगेर भाषण गर्दागर्दै प्रहरीले कमललाई पक्राउ गरेको थियो। त्यतिबेला प्रधानमन्त्री थिए, मातृका। उनीहरूलाई करिब नौ दिनपछि जेलबाट छाडियो।

पत्रकारितादेखि राजदूतसम्म

कमलका अनेक पर्याय छन्। उनी पत्रकार र लेखक हुन्। लेखक एवं पुराना पत्रकार नारायण ढकालका अनुसार कमल पार्टी निकट पत्रकारितामा काम गरेका छन्। उनी एमाले निकट पत्रिका ‘दृष्टि’ मा काम गरेका छन्।

‘हामीले सँगै काम पनि गर्‍यौँ’, ढकाल भन्छन्, ‘दृष्टिमा म सम्पादक हुँदा उहाँ प्रधानसम्पादक हुनुभएको थियो।’ ढकालका अनुसार कमल सूचनाका ‘भण्डार’ थिए। यही कारण पनि पार्टीले कमललाई प्रधान सम्पादक बनाएको थियो।

‘म सम्पादक थिएँ। प्रधान सम्पादक कसलाई बनाउने भन्नेमा बहस भयो,’ ढकाल थप्छन्, ‘भीम रावललाई ल्याउने कुरा भयो। अन्त्यमा कमललाई प्रधान सम्पादक बनाइयो।’

पत्रकार विश्वमणि सुवेदीका अनुसार कमलले २०५१ सालदेखि जनआस्थामा काम गरे थिए। उनले भने, ‘कमल दाइले अविछिन्न जनआस्थामा काम गर्नुभयो। बीचमा समय पार्टीमा रहँदा उहाँको नाम राखिएन। तर विचारकका रूपमा रहिरहनुभयो।’ कमल २०५४ सालमा पार्टी विभाजनमा नेकपा माले बनेका थिए।

त्यसपछिको संयुक्त महाधिवेशनमा उनी केन्द्रीय स्तरमा पुगे। २०४७ सालमा पार्टी एकतापछि मालेका तर्फबाट केन्द्रीय सदस्य बने। तर उनको राजनीति माथिल्लो पदमा पुगेन। एमाले उपाध्यक्ष ज्ञवालीका अनुसार स्वार्थ केन्द्रित राजनीति नगर्ने र पद मोह नभएकाले कमलले धेरै आकांक्षा देखाएनन्।

‘विचारलाई अघि बढाउनुपर्छ भन्नेमा कमल दाइ सबैभन्दा अगाडि हुनुहुन्थ्यो। यही कारण पार्टीका माथिल्लो पदमा पुग्नुभएन’, ज्ञवाली थप्छन्। कोइराला पूर्वराजदूत पनि हुन्। उनी दक्षिण कोरियाको राजदूत बनेका थिए। त्यसबेला कोइरालाले बुद्ध नेपालमा जन्मिएको प्रचार गरेका थिए। पछिल्लो समय भने नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध थिए। ‘केपी ओलीको संसद् विघटनपछि उनी माधव नेपाल लाइनमा लागेका थिए,’ एमालेका एक नेता भन्छन्।

पुराना नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले कमल सिद्धहस्त पत्रकार र साम्राज्यवाद विरोधी चेत भएका नेताका रूपमा रहेको बताएका छन्।

शैलजासँग भिडेर सांसद

२०४८ सालमा कमललाई एमालेले मोरङ ५ मा उम्मेदवार बनायो। कांग्रेसले भने शैलजा आचार्यलाई। शैलजा–कमल दाजुबहिनी थिए अर्थात् शैलजा फुपूकी छोरी। उनैले जितिन्। २०५१ सालको निर्वाचनमा फेरि त्यही निर्वाचन क्षेत्रमा चुनाव जिते।

जानकारहरूका अनुसार कोइराला परिवारबाट पहिलो कम्युनिस्ट थिए कमल। तर उनको सम्बन्ध परिवारसँग बिग्रिएन। ‘मेरा परिवार सबै हामीकहाँ आउनुहुन्थ्यो। सबैसँग राम्रो गफ हुन्थ्यो,’ कमल भन्ने गर्थे, ‘राजनीतिले कहिल्यै परिवारमा समस्या भएन। आस्था भए पनि सबै ठाउँमा एक थियौँ। अहिले पनि हामी सबैको राम्रो कुराकानी हुन्छ। समस्या छैन।’

२०६२/०६३ मा लोकतन्त्र पुनर्स्थापना भएपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सात दलीय सरकारले विभिन्न मुलुकमा राजदूत चयन गर्‍यो। चयन गरिएका राजदूतमध्ये अधिकांश राजनीतिक नियुक्ति पाउने थिए। तीमध्ये कोइराला पनि एक थिए। उनलाई एमालेले दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरेको थियो। त्यति बेला पार्टीको केन्द्रीय सल्लाहकार परिषद्‌मा रहेका कमलसँग कूटनीतिक अनुभव भने थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री ओली सोमबार आलोकनगरस्थित नेकपाल एकीकृत समाजवादी को पार्टी कार्यालय पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। उनी  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्य थिए।

प्रकाशित: १८ चैत २०८१ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast