
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू लुटतन्त्रलाई टुलुटुलु हेरे बस्ने लाछी व्यक्ति नभएको बताएका छन्। पार्टी कार्यालयमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘लुटतन्त्र टुलुटुलु हेरेर बस्ने म लाछी होइन।’
उनले आफू जुनसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताए। लामिछानेले भने, ‘म लड्छु, जुनसुकै शक्तिसँग पनि लड्छु। थप केही मुद्दा लगाउन बाँकी छ भने लगाओस् सरकारले।’
उनले आफू आफू कहाँ आगो बलेको छ त्यहाँ तापेर बसौँला भनेर राजनीतिमा नआएको पनि बताए। लामिछानेले भने, ‘लोकतन्त्र र गणतन्त्रको आडमा लुटतन्त्रलाई खबरदारी गर्न लामिछाने कहिल्यै पछि हट्दैन।’
सहकारी प्रकरणमा मुछिएपछि लामिछाने पार्टीको गतिविधिमा सक्रिय थिएनन्। उनी गत पुस ८ गते डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बसेका थिए। लामिछानेको सांसद पद पनि निलम्बनमा छ। पार्टीले निलम्बन फुकुवाका लागि संसद् सचिवालयमा माघ तेस्रो साता नै निवेदन दिएको थियो।