
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले चाहेमा गणतन्त्र उल्ट्याउन सक्ने चेतावनी दिएका छन्। उनले प्रतिनिधिसभाको विशेष समयमा सोमबार गणतन्त्रवादी दलहरूलाई संकेत गर्दै भने, ‘तपाईँले जबसम्म आफ्नो व्यवहारमा सुधार गर्नु हुन्न नि तपाईँको गणतन्त्रको विरोध चलिराख्छ मात्रै होइन, जनताले उल्ट्याउँछन्। जनताले चाह्यो भने यो गणतन्त्र जान्छ। त्यसकारण जनताको शक्तिलाई युवाको शक्तिलाई नहोच्याउनुस्।’
गणतन्त्रका नाममा आकाशमा उडाउन नमिल्ने विमान किनेर कमिसन खाएका र विमान बसाल्न नमिल्ने विमानस्थल बनाएको कमिसन खाएको कुरा जनताले राम्ररी हेरिरहेको भनाइ उनको छ। लिङ्देनले भने, ‘तपाईँले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिरहेका छन् जनताले।’
यसैगरी लिङ्देनले अब कथा र शब्दजालले अहिलेको पुस्ता मान्नेवाला नरहेको बताए। ‘मिथ्या इतिहासलाई मान्छेले पत्याउनेवाला छैन। अहिलेको सूचना प्रविधिबाट युवा राम्रोसँग परिचित छ।’ उनले राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न खोजेको, लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको आरोप लगाए।
लिङदेनले भने, ‘किर्ते कुराले अब युवा पुस्ताले मान्दैन। जनताले यो युगकै बढी कर तिरेका छन्। कति विकासमा गयो र कति तपाईँको पेट भरिन गयो भनेर जनताले हेरिरहेका छन्।’
उनले चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती नगरेको दाबी गरे। उनले प्रश्न गरे, ‘त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन? तपाईँ कांग्रेस एमाले भन्नेहरू आज यो सत्तामा भजनकीर्तन गर्दै र मादल बजाउँदै आएको हो? तपाईँहरू तोडफोड नगरी आएको हो? मान्छे नमारी आएको हो?’
लिङदेनले सबिन महर्जनलाई हिँडिराखेका बेला गोली हानिएको दाबी गर्दै यसबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकार, विश्व समुदायको र मानवअधिकारवादीको ध्यानाकर्षण गराए।
उनले १५ गते तीनकुनेको घटनामा मारिएका पत्रकार सुरेश रजक र अर्का व्यक्ति सबिन महर्जनलाई सहिद घोषणा गर्न माग गरे।